मकवानपुरगढीमा भएको रनिङ शिल्ड पुरुष भलिबलको उपाधि नागरिक सचेत क्लब(ए)लाई

|

मकवानपुर / मकवानपुरगढी गाउँपालिका वडा नम्बर– ६ डुम्रेकुनामा भएको पालिका स्तरीय रनिङ शिल्ड पुरुष भलिबलको उपाधि नागरिक सचेत युवा क्लब(ए)ले जितेको छ । आज भएको फाइनल खेलमा गढी – ८ बुढीचौरलाई सोझो सेटमा पराजित गर्दै गढी– ७ सुकौराका नागरिक सचेत (ए) ले उपाधि उचालेको हो । उपाधि विजेता नागरिक सचेत (ए) सुकौराले नगद ३० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता बुढीचौरले नगर २० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी नागरिक सचेत (ए) का राज थिङ्ग भएका छन् । त्यस्तै उत्कृष्ट स्पाईकर बुढीचौरका रुपेन्द्र दोङ भएका छन् भने उत्कृष्ट सटर नागरिक सचेत (ए) का रमेश वाईबा भएका छन् ।

प्रतियोगिताको समापन समारोहबीच डुम्रेकुनामा विभिन्न सार्वजनिक भवन निर्माण गर्नका लागि सहयोग गर्ने सहयोगी जग्गादाताहरुलाई समेत सम्मान गरिएको छ । डुम्रेकुनास्थित पालिका स्तरीय हस्पिटल निर्माणका लागि जग्गा दान गर्ने स्थानीय बुद्ध बहादुर स्याङ्तान (४.५ रोपनी) र शेर बहादुर गोले (४.५ रोपनी) त्यस्तै ६ नम्बर वडा कार्यालय निर्माणका लागि १ कठ्ठा जग्गा दान गर्ने कृष्ण प्रसाद सुबेदिलाई सम्मान पत्रले सम्मान गरिएको हो । साथै, समापन समारोहमा डुम्रेकुनाका पुर्ब भलिबल खेलाडीहरु भुपेन्द्र परियार, बाल कृष्ण स्याङ्तान, टेक बहादुर स्याङ्तानलाइ भलिबल क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै कदर पत्र प्रदान गरिएको थियो ।

खेलाडी उत्पादन गर्ने लक्ष्यसहित आयोजित प्रतियोगिताको मकवानपुरगढी गाउँपालिकाले सहयोग गरेको हो । यही २४ गतेबाट सुरु भएको प्रतियोगितामा गाउँपालिकाभरीका ९ वटा क्लबले सहभागिता जनाएका थिए । समापन समारोह आयोजक सनराइज युवा क्लवका अध्यक्ष प्रेम स्याङतानको अध्यक्षता तथा गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समारोहमा वडा नम्बर ६ का वडा अध्यक्ष टिकाप्रसाद दाहाल, वडा नम्बर ७ का कार्यवाहक अध्यक्ष प्रतिमान रुम्बा लगायतकाको उपस्थिति थियोे ।

 

२०७८ आश्विन २६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।