नेपालगन्ज। गुरुङ समुदायको धार्मिक, सांस्कृतिक तथा परम्परागत महत्त्व बोकेको खेमा पूजा (पितृ पूजा) नेपालगन्जमा सम्पन्न भएको छ। गुरुङ समुदायको मौलिक संस्कार, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा समुदायका अगुवा, विशिष्ट अतिथि तथा सदस्यहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा तमु ह्युल छोज धी जिल्ला कार्यसमिति बाँकेका अध्यक्ष शेरबहादुर गुरुङले गुरुङ समुदायको पहिचान, मौलिक संस्कार र सांस्कृतिक परम्पराको संरक्षण गर्न खेमा पूजाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले नयाँ पुस्तालाई आफ्नो भाषा, धर्म, संस्कृति र पुर्खाको इतिहासबारे जानकारी गराउँदै परम्परालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रमका अतिथिहरू क्याप्टेन होमबहादुर गुरुङ, क्याप्टेन दीबबहादुर गुरुङ र क्याप्टेन कुमार गुरुङले खेमा पूजाले पुर्खाप्रतिको सम्मान, पारिवारिक एकता र सामाजिक सद्भावलाई बलियो बनाउने धारणा व्यक्त गर्नुभयो। उहाँहरूले यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमले समुदायबीच आपसी भाइचारा, एकता र मेलमिलाप बढाउन सहयोग पुग्ने बताउनुभयो।

त्यसैगरी, पूर्वअध्यक्ष भीम गुरुङले गुरुङ समुदायको मौलिक संस्कार तथा परम्परालाई जोगाउन सबैले सामूहिक जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले परम्परागत पूजाआजा तथा सांस्कृतिक गतिविधिलाई निरन्तरता दिँदै भावी पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।

लुम्बिनी प्रदेश सदस्य शोभा गुरुङले पनि खेमा पूजाको अवसरमा शुभकामना व्यक्त गर्दै समुदायको भाषा, संस्कृति, धार्मिक आस्था र मौलिक पहिचानको संरक्षणमा सबै एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले खेमा पूजाको महत्व प्रकाश पार्दै गुरुङ सांस्कृतिक विविधताले समाजलाई समृद्ध बनाउने उल्लेख गर्दै यस्ता कार्यक्रमले सामाजिक एकता र सद्भाव कायम गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
गुरुङ समुदायमा पुर्खाप्रतिको श्रद्धा, सम्मान तथा परम्परागत धार्मिक आस्थासँग जोडिएको खेमा पूजा सांस्कृतिक पहिचानको महत्त्वपूर्ण पक्षका रूपमा लिइन्छ। यस्ता कार्यक्रमले आफ्नो मौलिक संस्कारलाई जीवन्त राख्नुका साथै नयाँ पुस्तालाई समुदायको इतिहास, परम्परा र सांस्कृतिक मूल्यबारे परिचित गराउन मद्दत पुर्याउने अपेक्षा गरिएको छ। सो कार्यक्रम तमु ह्युल छोज जी गुरुङ राष्ट्रिय परिषद् बाँके सचिव सोम गुरुङले सञ्चालन गरेका थिए।






