नेपालगन्ज / नेपालगन्जलाई सदभावको शहर भनेर चिनाउने, नेपालगन्ज र कोहलपुर जोड्ने अभियानका लागि नेपाल सरकार र तत्कालिन विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै थालिएको धारा नेपालगन्जको सातौं संस्करण घोषणा भएको छ । हरेक मंसिर पहिलो शानिवार गर्ने तय गरिएको म्याराथनको तयारी बारे आयोजक क्रियटिभ ह्याण्ड्सले शनिवार पत्रकार सम्मेलनमार्फत दिएको जानकारी अनुसार, धारा नेपालगन्ज म्याराथनको सातौं संस्करण मंसिर ४ गते शनिवार घोषणा भएको हो । त्यससँगै म्याराथनको व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले नेपालगन्ज म्याराथन डट कम वेभसाइट पनि सार्वजनिक गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगर, केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, शिखर प्लाईका निर्देशक प्रदीप दुगड, राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतम, फोन पेका शाखा प्रबन्धक महेन्द्र राना र नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले संयुक्त रुपमा वेभसाइटको शुभारम्भ गरेका थिए ।
‘आजदेखि खेलाडी दर्ता खुला गरिएको छ,’ पत्रकार सम्मेलनमा आयोजक अध्यक्ष टीएस ठकुरीले भने, ‘यसबर्षदेखि वेभसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।’ यस पटक बिभिन्न दश वटा विधामा स्पर्धा गर्न सकिनेछ । आयोजकका अनुसार, पुरुषतर्फ म्याराथन (४२.१९५ किमी) महिलातर्फ हाफ म्याराथन, १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन (८ देखि १२ बर्ष उमेरसमुह) २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको हो ।
प्रतियोगितामा नगद पुरस्कार राशी पनि वृद्धि गरिने जानकारी दिंदै ठकुरीले भने, ‘पुरस्कार राशीमा वृद्धि अवश्य हुनेछ, साथै हामी यसबर्ष अन्य केही सरप्राइज प्याकेज पनि घोषणा गर्दैछौं ।’ म्याराथन विजेताका लागि बर्षभरि प्रशिक्षणको व्यवस्थापनमा आवश्यक लगानीका लागि प्रायोजकहरुसँग परामर्श गरिरहेको पनि उनले बताए ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगरले नेपाल धारा नेपालगन्ज म्याराथनले बर्षेनी स्तरोन्नति गर्दै गएकोमा खुशी व्यक्त गरिन् । टाइटल स्पोन्सर केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेडले नेपालगन्ज म्याराथनको निरन्तरता र स्तरोन्नतिमा आफुहरु सदैव तत्पर रहेको बताए ।
राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतमले धारा नेपालगन्ज म्याराथनसँग पाँचौं संस्करणदेखि निरन्तर जोडिन पाएकोमा बैंक परिवारले गौरवको अनुभुति गरेको बताए । फोन पेका शाखा प्रबन्धक महेन्द्र रानाले हरेक सहभागीले फोन पे नेटवर्क प्रयोग गरी दर्ता शुल्क भुक्तानी गर्न सकिने भएकाले सबैलाई सहज हुने धारणा व्यक्त गरे । ‘गतवर्ष कोरोनाले गर्दा भब्य गर्न नसकिएको म्याराथनलाई यसपाली उत्सवमय बनाउने हाम्रो लक्ष्य रहेको छ,’ आयोजकले भनेको छ ।