काठमाडौ । साफ च्याम्पियनसिप २०२१ को दोस्रो खेलमा श्रीलंकालाई हराउँदै नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा श्रीलंकालाई ३-२ ले हराउँदै नेपालले लगातार दोस्रो जित दर्ता गरेको हो । साफमा नेपालले श्रीलंकालाई २२ वर्षपछि हराएको हो। पछिल्लो पटक नेपालले साफमा श्रीलंकालाई सन् १९९९ मा हराएको थियो।
लगातारको जितले नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ, त्यहीं प्रतियोगितामा श्रीलंकाको चुनौती लगभग सकिएको छ । नेपालका लागि सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले एक- एक गोल गरे ।
नेपालले आफ्नो पहिलो खेलमा आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सलाई पराजित गरेको थियो । लगातार दोस्रो जितसँगै नेपालले २ खेलमा ६ अंक बनाएको छ । राउण्ड रोबिन लिगमा बंगलादेश २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ । भारत १ खेलमा १ अंकसहित तेस्रो स्थानमा रहँदा श्रीलंका र माल्दिभ्स अंकविहिन छन् ।
आजको पहिलो खेलमा बंगलादेशले उपाधिको दावेदार भारतलाई बराबरीमा रोकेको थियो । दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सिमित भएर खेलेको बंगलादेशले भारतलाई १-१ को बराबरीमा रोकेको हो ।