आजदेखि सबै सरकारी कार्यालय खुल्दै

|

काठमाडौं ।
कोरोना महामारीका कारण झण्ढै साढे दुई महिनादेखि बन्द सबै सरकारी कार्यालय आजदेखि खुल्ने भएका छन् ।

बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म एउटा सिफ्ट र दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म अर्को सिफ्ट गर्दै दुई सिफ्टमा सरकारी कार्यालय खुल्ने छन् ।
कर्मचारीलाई कार्यालयकै गाडीमा ओहोरदोहोर गर्ने व्यवस्था मिलाईएको छ । निजी साधन हुनेले भने आफ्नै गाडी प्रयोग गर्न पनि सक्नेछन् ।

सरकारी कार्यालयमा भीडभाड नहोस् भन्नका लागि दुई सिफ्टमार्फत सेवा दिने तयारी सरकारले गरेको हो ।
कार्यालय जाने कर्मचारीलाई स्वास्थ्य सुरक्षा अपनाउन अनिवार्य गरिएको छ । कर्मचारीले अनिवार्य मास्क लगाउनु पर्ने छ भने स्यानिटाईजरको पनि व्यवस्था गरिएको छ ।

गएको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सोमबारदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको थियो ।

यस्तै सामाजिक दूरी कायम गरेर सेवा दिन र बस्दा एउटा कुर्सी छोडेर भौतिक दूरी कायम गर्न भनिएको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णयपछि पसलहरू सञ्चालनमा आइसकेका छन् भने जोरबिजोर प्रणालीमा निजी सवारीसाधन पनि गुड्न थालेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गएको चैत ११ गतेदेखि देशभर लकडाउन सुरु गर्नुका साथै अत्यावश्यक सेवा प्रदान गर्ने बाहेकका सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

२०७७ असार १, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।