
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काङ्ग्रेसका सांसद डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्नुभएको छ । सरकार गठन भएको ७२ दिनपछि खड्कालाई मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्नु भएको हो ।
राष्ट्रपतिले प्रधानमन्त्री देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम डा खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्री खड्कालाई आजै अपराह्न पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताउनुभयो ।
लगत्तै नवनियुक्त मन्त्री खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउनु हुनेछ । त्यसपछि खड्काले सिंहदरबार गएर कार्यभार सम्हाल्नु हुनेछ ।