काठमाडौं । आज असाेज ३ गते, संविधान दिवस तथा राष्ट्रिय दिवस । देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ । असाेज ३ गते संविधानसभाले नयाँ संविधान जारी गरेको दिनको सम्झनामा हरेक वर्ष आजकाे दिन संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिएको छ । सरकारले असाेज २ देखि ४ गतेसम्म विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाउँदैछ ।
दिवस मनाउन प्रधानमन्त्रीका अध्यक्षतामा मूल समारोह समिति गठन भइसकेकाे छ । दिवसका अवरमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम हुँदैछन् । नेपालको राष्ट्रिय झण्डा आआफ्ना घरघरमा सम्मानसाथ राख्न सरकारले आग्रह गरेकाे छ ।
तत्कालीन राष्ट्रपति रामवरण यादवले ०७२ साल असोज ३ गते नेपालको संविधान जारी गर्नुभएकाे थियाे । यो संविधान जनप्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो । नयाँ संविधान कार्यान्वयमा आएको पाँच वर्ष पूरा भएको छ ।
यस अवधिमा सरकारले धेरै कुरा कार्यन्वयन गरिसकेकाे छ । माैलिक हक कार्यन्वयनकाे काम पनि अन्तिम चरणमा छ । अरू व्यवस्था पनि कार्यन्वयनका क्रममा छन् ।
संविधान दिवसकै अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्काे सिफारिसमा ५ सय ३१ जना कैदीको बाँकी कैद सजाय मिनाहा गरिदिनुभएकाे छ । आजै राष्ट्रपतिले विभिन्न व्यक्तिलाई विभिन्न सरकारी विभूषण प्रदान गर्दै हुनुहुन्छ ।






