कसगर समुदायका लागि तीनदिने अनौपचारिक शिक्षाको पुनर्ताजगी तालिम सुरु

|

नेपालगन्ज / कसगर समुदायको शैक्षिक तथा आर्थिक सशक्तीकरणलाई लक्ष्य गर्दै तीनदिने अनौपचारिक शिक्षाको पुनर्ताजगी तालिम नेपालगन्जमा सुरु भएको छ।

सभ्य समाज नेपाल, बाँकेको आयोजनामा तथा नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा सञ्चालन भएको तालिमको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरखबहादुर थापाले गर्नुभयो।

उद्घाटन समारोहका प्रमुख अतिथि थापाले शिक्षा आर्थिक सशक्तीकरणको प्रमुख आधार भएको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले समुदायको समग्र विकासका लागि शिक्षासँगै सीपमूलक तालिमको पनि महत्वपूर्ण भूमिका रहने बताउनुभयो।

तीन दिनसम्म सञ्चालन हुने तालिममा कसगर समुदायका सहभागीहरूलाई अनौपचारिक शिक्षाको पुनर्ताजगी, उद्यमशीलता विकास, स्वास्थ्यसम्बन्धी आधारभूत जानकारी तथा आयआर्जनका अवसरका विषयमा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ। तालिमको पहिलो दिन सहजकर्ता मुनिर खान र जागेश्वर बस्नेतले सहजीकरण गर्नुभएको थियो।

आयोजकका अनुसार असार ७ देखि ९ गतेसम्म सञ्चालन हुने तालिमबाट सहभागीहरूको शैक्षिक क्षमता अभिवृद्धि हुनुका साथै सीप विकासमार्फत रोजगारी तथा स्वरोजगारका अवसर विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको सञ्चालन सभ्य समाज नेपाल, बाँकेका कार्यकारी निर्देशक सूर्यलाल यादवले गर्नुभएको थियो भने संस्थाका अध्यक्ष भिष्म लोधको सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।

२०८३ असार ७, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।