जोखिम क्षेत्र पहिचान गरी तत्काल तयारी गर्न आग्रह
काठमाडौं / माननीय गृहमन्त्री सुधन गुरुङको विशेष उपस्थितिमा मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्यका विषयमा राष्ट्रियस्तरको बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले बाढी, पहिरो, डुबान तथा सुख्खा लगायत मनसुनजन्य विपद्को सम्भावित जोखिम क्षेत्र समयमै पहिचान गरी आवश्यक पूर्वतयारीका कार्यलाई तीव्र बनाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिनुभयो।
उहाँले विपद्को सूचना यथासक्य छिटो सर्वसाधारणसम्म पुर्याउनु सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै विपद् घटना हुनासाथ तत्काल प्रतिकार्यमा सबै निकाय परिचालन हुन सक्ने प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।
गृहमन्त्री गुरुङले सूचना तथा सञ्चार प्रणालीलाई थप व्यवस्थित बनाउने, सरकारी निकाय, विभाग, सुरक्षा निकाय र साझेदार संस्थाबीचको समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउने, साथै अस्थायी आश्रयस्थल व्यवस्थापन र राहत वितरणका क्रममा बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा अन्य विशेष आवश्यकता भएका नागरिकलाई प्राथमिकताका आधारमा सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
छलफल कार्यक्रममा विपद् व्यवस्थापनका ११ वटा विषयगत क्षेत्र (Cluster) का नेतृत्वकर्ता सरकारी मन्त्रालय तथा निकाय, सह-नेतृत्वकर्ता संयुक्त राष्ट्रसंघीय निकाय र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा अन्य सरोकारवाला संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा विभिन्न विषयगत क्षेत्रका प्रतिनिधिहरुले मनसुन अवधिलाई लक्षित गरी आफ्नो-आफ्नो क्षेत्रमा गरिएको पूर्वतयारी, उपलब्ध स्रोत–साधन, समन्वयका प्रयास तथा हाल सञ्चालनमा रहेका गतिविधिबारे जानकारी गराएका थिए।
सरकारले यस वर्षको मनसुनलाई मध्यनजर गर्दै सम्भावित विपद्को प्रभाव न्यूनीकरण, उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन सम्बन्धित सबै निकायसँग समन्वयात्मक रूपमा तयारीलाई तीव्र बनाएको जनाएको छ।






