नर्वेमा नेपालगन्ज म्याराथनलाई प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’

|

काठमाडौँ। नेपालको धारा नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ प्राप्त गरेको छ। विश्वभरका म्याराथन तथा दूरी दौड आयोजकहरूको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (AIMS) ले नर्वेको ट्रम्सोमा जारी २५औँ विश्व कंग्रेसका अवसरमा शुक्रबार राति आयोजित विशेष समारोहमा उक्त सम्मान प्रदान गरेको हो।

एम्सका अध्यक्ष पाको बोराओले नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीलाई अवार्ड हस्तान्तरण गरेका थिए। विश्वभरका करिब पाँच सय सदस्य आयोजकमध्ये हरेक वर्ष एक संस्थालाई मात्र प्रदान गरिने ‘एम्स सोसल अवार्ड’लाई विश्व रनिङ समुदायको अत्यन्त प्रतिष्ठित सम्मानका रूपमा लिइन्छ।

अवार्ड ग्रहणपछि संस्थापक ठकुरीले यो उपलब्धि नेपालगन्ज म्याराथन मात्र नभई सम्पूर्ण नेपालको गौरव भएको बताए। उनले भने, “यो एम्सको एकमात्र अवार्ड हो। यसले नेपालमा म्याराथन आयोजनाको गरिमा र अन्तर्राष्ट्रिय पहिचान अझ उचाइमा पुग्ने विश्वास लिएको छु।”

यसअघि सन् २०१३ देखि २०१९ सम्म इथोपिया, जापान, मेक्सिको, जर्मनी, कोलम्बिया, सर्बिया र स्वीट्जरल्याण्डका प्रतिष्ठित म्याराथन आयोजकहरूले यो सम्मान प्राप्त गरेका थिए। केही वर्ष रोकिएको अवार्ड यस वर्षदेखि पुनः निरन्तरता दिइएको हो।

एम्सले नेपालगन्ज म्याराथनलाई निरन्तर आयोजना, सामाजिक अभियानसँग जोडिएका विभिन्न दौड कार्यक्रम, जलवायु परिवर्तनसम्बन्धी जनचेतना, कोभिड–१९ महामारीका बेला पनि टोकियो ओलम्पिक छनोट प्रतियोगिता सञ्चालन गरी राज्यलाई पुर्‍याएको योगदान तथा नेपाल रनिङ म्यागजिनको निरन्तर प्रकाशनलगायतका आधारमा छनोट गरेको जनाइएको छ।

२०७२ सालदेखि सुरु भएको नेपालगन्ज म्याराथन विस्तृत शान्ति सम्झौताको सम्झनामा आयोजना हुँदै आएको छ। बहुजातीय, बहुधार्मिक तथा बहुसांस्कृतिक समाजमा शान्ति, सद्भाव र एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले सुरु गरिएको यो प्रतियोगिता अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित बनेको छ।

नेपालगन्ज म्याराथनअन्तर्गत हाल गौघाट ग्रीन रन, राप्तीसोनारी नेचर रन, नेपालगन्ज १० के नाइट रन, काठमाडौं २५ किलोमिटर हेरिटेज रेस, कर्णाली हाफ म्याराथन, नेपालगन्ज कनक्लेभ तथा नेपाल रनिङ म्यागजिनलगायतका कार्यक्रम सञ्चालन हुँदै आएका छन्। यसै वर्षदेखि ‘वन ग्लोबल माइल’ अभियानअन्तर्गत कोहलपुर माइल र काठमाडौं माइल पनि सुरु गरिने तयारी गरिएको छ।

गत वर्ष नेपालगन्जमै एम्स बोर्ड बैठक तथा नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना गरिएको थियो, जसमा १८ देशका प्रतिनिधिहरू सहभागी भएका थिए। पछिल्ला वर्षहरूमा सामाजिक उत्तरदायित्व, वातावरण संरक्षण र खेल पर्यटन प्रवर्द्धनमा देखाएको सक्रियताले नेपालगन्ज म्याराथनले अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान स्थापित गरेको छ।

२०८३ असार ६, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।