नेपालगञ्जमा राष्ट्रियस्तरको ‘नेपालगञ्ज पम्प ट्र्याक च्यालेन्ज–२०२६’ शनिबार हुँदै

|

नेपालगञ्ज / नेपालगञ्जमा पहिलोपटक राष्ट्रियस्तरको ‘नेपालगञ्ज पम्प ट्र्याक च्यालेन्ज–२०२६’ आयोजना हुने भएको छ। नेपालगञ्ज–१ स्थित नेपालकै सबैभन्दा ठूलो पम्प ट्र्याकमा असार ६ गते प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।

नेपालगञ्ज बाइसिकलद्वारा आयोजित प्रतियोगितामा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १, नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बाँके जिल्ला साइक्लिङ संघ तथा नेपालगञ्ज साइक्लिङ क्लबको सहयोग रहेको छ।

आयोजकका अनुसार प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट राष्ट्रिय तथा उदीयमान साइक्लिस्टहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिता इलिट महिला, इलिट पुरुष, मास्टर पुरुष, जुनियर ‘ए’, जुनियर ‘बी’ र किड्स गरी ६ विधामा सञ्चालन हुनेछ।

नेपालगञ्जमा निर्माण गरिएको नेपालकै सबैभन्दा ठूलो पम्प ट्र्याकमा आयोजना हुन लागेको यस प्रतियोगिताले नेपालमा पम्प ट्र्याक खेलको विकास र विस्तार, नयाँ प्रतिभाको पहिचान तथा खेल पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

पम्प ट्र्याक उचाइ–ओरालो, घुमाउरा मोड तथा तरंगयुक्त संरचनासहित निर्माण गरिएको विशेष ट्र्याक हो। यस खेलमा खेलाडीहरूले शरीरको सन्तुलन, गति नियन्त्रण र ट्र्याकको बनावटबाट प्राप्त हुने गतिशक्तिको प्रभावकारी उपयोग गर्दै कमभन्दा कम पेडल प्रयोग गरी निर्धारित दूरी छिटो पूरा गर्न प्रतिस्पर्धा गर्छन्। विश्वका विभिन्न मुलुकमा लोकप्रिय बन्दै गएको यो विधा पछिल्ला वर्षहरूमा नेपालमा पनि विस्तार हुँदै गएको छ।

आयोजकका अनुसार नेपालगञ्जको पम्प ट्र्याकले यस क्षेत्रलाई साइक्लिङ खेलको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्नेछ। साथै, युवामा खेल संस्कृतिको विकास, स्वस्थ जीवनशैलीको प्रवर्द्धन, वातावरणमैत्री यातायातप्रति आकर्षण वृद्धि तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनका लागि पनि यो प्रतियोगिता कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ।

प्रतियोगितालाई सफल बनाउन आयोजकले सञ्चारमाध्यम, सरकारी तथा गैरसरकारी निकाय, निजी क्षेत्र, खेलप्रेमी तथा आम नागरिकलाई प्रचारप्रसार, सहयोग र सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ। नेपालगञ्ज बाइसिकलका निर्देशक गगन थापाले प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्।

२०८३ असार ५, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।