
एजेन्सी । टोकियो ओलम्पिक २०२० मा नाटकीय ढंगले सहभागिताबाट बन्चित भएका धावक गोपीचन्द्र पार्कीले विश्व प्रसिद्ध बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
जर्मनीको बर्लिनमा हुने म्याराथनका लागि गोपी २१ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्दैछन् । म्याराथन २६ सेप्टेम्बरमा आयोजना हुनेछ । गोपीको म्याराथन सहभागितामा लाग्ने हवाई खर्च राष्ट्रिय खेलकुद परिषदले बेहोर्ने भएको छ । गोपी १३ औं दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक विजेता हुन् ।
त्यस्तै उनको जर्मनी बसाईंको खर्च भने जर्मन नागरिक राल्फले बेहोर्ने भएका छन् । उनको भिसा प्रक्रिया र त्यसमा लागेको खर्च पनि उनले नै बेहोर्ने भएका छन् । गोपी आबद्ध रहेको विभाग एपीएफकै प्रशिक्षक दिलमाया कार्कीको पहलमा यो सम्भव भएको हो । कार्की जर्मनीमा प्रशिक्षणमा रहँदा रहेको सम्बन्धका कारण यो सम्भव भएको थियो ।
यसबाहेक गोपीले सुदूरपश्चिमको दिनेश फाउन्डेसनबाट पनि मासिक १० हजार रुपैयाँ डाइट खर्च प्राप्त गर्दै आएका छन् । फाउन्डेसनले उनलाई अर्को ओलम्पिकको तयारीका लागि पेरिस २०२४ ओलम्पिकसम्मका लागि यो खर्च उपलब्ध गराउने बताएको छ ।