आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले अमेरिकालाई हरायाे

|

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले अमेरिकालाई पराजित गरेको छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले १ ओभर बाँकी छँदा पूरा गर्‍यो ।

नेपालका लागि कुशल भुर्तेल र रोहित पौडेलले अर्धशतकीय पारी खेले । कुशलले ९३ बलमा ३ छक्का र ३ चौकासहित ८४ बनाए भने रोहितले ८७ बलमा ६२ रनको योगदान गरे । आशिफ शेखले २३ र कप्तान ज्ञानेन्द्र मल्ल १७ रन जोडे ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो । अमेरिकाका लागि मोनांक पटेलले १ सय, निसर्ग पटेलले २१, सुशान्त मोदानी र करिम गोरले समान १६(१६ तथा स्टिभन टेलरले १४ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने, विक्रम शोब र सुसन भारीले समान २/२ तथा कुशल मल्लले १ विकेट लिए । नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एकदिवसीय सिरिज आजदेखि सुरु भएको हो ।

नेपालले अब आफ्नो दोस्रो खेल भोलि ओमानसँग खेल्नेछ । नेपालले तेस्रो खेलमा असोज १ गते अमेरिकासँग प्रतिष्पर्धा गर्नेछ । नेपालले अन्तिम खेल असोज ३ गते ओमानसँग खेल्नेछ । सिरिजको तयारी स्वरूप नेपालले पपुवा न्युगिनिसँग दुई खेलको एकदिवसीय सिरिज खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो ।

यसअघि लिग २ अन्तर्गत नेपालले घरेलु मैदानमा ४ खेल खेलिसकेको छ । तीमध्ये नेपालले २ खेलमा अमेरिकालाई हराएको थियो । ओमानसँग दुबै खेलमा हारेको थियो ।

सात टोली सम्मिलित लिग-२ मा नेपालसहित ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया, युएई र पपुवा न्युगिनी छन् । ४ खेलबाट ४ अंक जोडेको नेपाल छैटौं स्थानमा छ । १० खेलबाट १६ अंक जोडेको ओमान शीर्ष स्थानमा छ । १२ अंक जोडेको अमेरिका दोस्रोमा रहँदा ९ अंक जोडेको स्कटल्यान्ड तेस्रो स्थानमा छ ।

२०७८ भाद्र २८, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।