कांग्रेसको १४ औँ महाधिवेशन प्रक्रिया आज वडा तहबाट हुँदै

|

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन प्रक्रिया आज वडा अधिवेशनबाट शुरु हुँदैछ । क्रियाशील सदस्यताको नामावली पुगेका ५६ जिल्लाका वडामा वडा अधिवेशन शुरु गरिने भएको हो । वडा अधिवेशन एकै दिन गर्ने कार्यतालिका बनाइए पनि काठमाडौँसहित दुई दर्जनभन्दा बढी जिल्लामा आज अधिवेशन नहुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार वडा अधिवेशनका लागि ५६ जिल्लामा केन्द्रीय प्रतिनिधि पुगिसकेका छन् । जिल्लामा पुगे पनि सबै वडामा प्रतिनिधि पुग्न नसकेकाले आज करिब ४६ जिल्लमा मात्रै वडा अधिवेशन हुन सक्ने अनुमान समितिको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ५६ जिल्लामा पार्टीको क्रियाशील सदस्यताको अन्तिम सूची सार्वजनिक गरिएकाले अब महाधिवेशन प्रक्रिया शुरु गरिएको बताउनुभयो । उहाँले कांग्रेसका विधानमा तल्लो तहदेखि माथिल्लो तहसम्म महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चित गरिएको बताउनुभयो ।

कुनै कारण आज निर्वाचनको प्रक्रिया शुरु हुन नसकेका जिल्लामा भदौ २६ गतेभित्र वडा अधिवेशन सम्पन्न गरिसक्नुपर्ने निर्देशन पार्टीले दिएको छ । वडा तहबाट छानिने प्रतिनिधिले महाधिवेशनको नतिजामा प्रभाव पार्ने भएकाले नेताहरु तल्लो तहबाटै सक्रिय बनेका छन् । २१ जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता विवाद अझै टुंगिएको छैन ।

२०७८ भाद्र १७, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।