
काठमाडौं । टोकियो ओलम्पिकमा आजदेखि नेपालका खेलहरु सुरु हुँदैछन । आज सुटिङकी कल्पना परियारले १०० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् भने जुडोकी सोनिया भट्टले ४८ केजीमुनिको तौल समूहमा खेल्ने छिन् ।
भट्टको विपक्षी खेलाडी रसियाकी डोल्गोभा इरिना हुन् । आगामी जुलाई २७ मा पौडीका एलेक्जेन्डर शाह ९एलेक्स० ले १०० मिटर फ्री स्टाइलमा र जुलाई २८ मा गौरिका सिंहले त्यही इभेन्ट्समा खेल्ने तालिका रहेको छ ।
जुलाई ३० मा एथलेटिक्सकी सरस्वती चौधरीले १०० मिटर दौडमा भाग लिनेछिन् । त्यस्तै पाराओलम्पिकमा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले प्रतिस्पर्धा गर्नेछिन् । ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन शुक्रबार भएको हो ।
जापानको राजधानी टोकियोमा शुक्रबार साँझ विशेष समारोहकाबीच उद्घाटन गरिएको हो । समारोहमा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों, अमेरिकाकी प्रथम महिला जिल बाइडेनलगायत उपस्थित भएका थिए ।
उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्सले बोकेका थिए । सङ्क्रमण जोखिमकै कारण स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा विशेष कडाई गरिएको छ । दर्शकको उपस्थिति बिना नै प्रतियोगिता सञ्चालन हुँदैछन् ।