प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वास मत प्राप्त

|

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ । मतदानमा २४९ जना सांसद सहभागी भएका थिए । उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका सांसदले उनलाई मत दिएका हुन् । राप्रपा र नेमकिपाका एकएक सांसदले मतदान गरेनन् । सर्वोच्च अदालतले संविधानको धारा ७६ को ५ बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा दलीय ह्वीप नलाग्ने व्याख्या गरेको थियो ।
विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । देउवा २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । नियुक्त भएको एक महिनाभित्र संसद्मा विश्वासको मत लिनुपर्ने प्रावधानअनुसार देउवाले आइतबार विश्वासको मत लिएका हुन् ।

२०७८ श्रावण ३, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।