
तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबुलकार दशैँसम्म सञ्चालनमा आउने भएको छ ।
पहिलो चरणअन्तर्गतका काम लगभग सकिएकाले दशैँमा केबुलकार सञ्चालन गर्न सकिने बन्दीपुर केबुलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी गराउनु भएको छ ।
दशैँमा सर्वसाधारणलाई केबुलकार चढाउने योजनाबमोजिम धमाधम काम भइरहेको हो ।
कोभिड महामारी नभएको भए यतिबेलासम्म केबुलकार सञ्चालनमा आइसक्थ्यो”, शर्माले भन्नुभयो, “अब दशैँमा सञ्चालन गर्ने गरी तयारी गरेका छौँ।
शर्माका अनुसार परियोजनाको ६५ प्रतिशत काम सम्पन्न भएको छ ।
पहिलो चरणमा केबुलकार सञ्चालन र दोस्रो चरणमा क्विन टावर सञ्चालन गर्ने योजना छ ।
पन्ध्र तल्ले क्विन टावरको सात तला ढलान सकिएको छ ।
बन्दीपुर केबुलकार परियोजना दक्षिण एशियामा नै फरक उद्देश्यसहित निर्माण भइरहेको छ । केबुलकार सिधै चारतारे होटेलमा प्रवेश गर्नेछ । होटेलबाट सूर्योदय देख्न सकिनेछ ।
परियोजनाले दशौँ हजार पर्यटक बन्दीपुरमा भित्र्याउने रणनीतिक योजना बुनेको कम्पनीको दाबी छ । बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा तल्लो स्टेशन र सोही वडाको बरालथोकमा माथिल्लो स्टेशन रहनेछ ।
ठूल्ढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबुलकारबाट घण्टामा २०० वारपार गर्न सक्नेछन् । एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्ने विश्वास लिइएको छ ।