एन्फा प्रेसिडेन्ट लिगमा त्रिवेणीको दोस्रो जित

|

नेपालगन्ज / लमजुङको त्रिवेणी युवा क्लबले जुम्लाको लेकाली युवा क्लबलाई एन्फा प्रेसिडेन्ट लिग फुटबलमा आइतबार २–१ ले पराजित गरेको छ ।
खेलको अन्तिम मिनेटमा सन्त बहादुर गुरुङले गोल गरेपछि त्रिवेणीले खेल जित्दै ३ अंक जोडेको हो । जारी लिगमा त्रिवेणीले दोस्रो खेल जित्दै ६ अंक बटुलेको छ । लेकाली युवा क्लबले भने तीन खेलबाट १ अंक मात्र जोडन सकेको छ ।

त्रिवेणीका बिमल रानाले १७औं मिनेटमा गोल गरेका थिए भने सन्त बहादुरले ९४औं मिनेटमा गोल गरेका थिए । जुम्लाको तर्फबाट भुपेन्द्र शाहीले १९औं मिनेटमा गोल गरेर खेल बराबरी गरेका थिए । खेलमा जुम्लाका भुपेन्द्र म्यान अफ द म्याच घोषित भए ।
उनलाई एन्फाका पुर्व उपाध्यक्ष गोर्वधन सिह सम्झनाले पुरस्कृत गरे ।

चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन ।
अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गरिरहेका छन ।

२०७७ चैत्र ८, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।