बाँकेको धम्बोझी र धादिङ समाज विजयी

|

नेपालगन्ज / लुम्बिनी प्रदेशको लिग च्याम्पियन धम्बोझी क्लब बाँके र प्रदेश नम्बर ३ को लिग च्याम्पियन धादिङ समाज धादिङले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा विजयी सुरुआत गरेका छन । धम्बोझीले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई १–० ले पराजित गरेको छ । खेलमा धम्बोझीको लागि पुर्ण बहादुर गुरुङले ४२ औं मिनेटमा गोल गरेका थिए । खेलमा पुर्ण म्यान अफ द म्याचबाट पुरस्कृत भए । उनलाई अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवम नेपाल ओलम्पिक कमिटि सदस्य दिर्घ बहादुर केसी९कुमार०ले ५ हजार सहित सम्मान गरे । यसैगरी अर्को खेलमा धादिङले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ ले पराजित गरेको छ ।

एन्फा प्रेसिडेन्ट लिगको दोस्रो खेलमा धादिङको तर्फको कप्तान अमिर श्रेष्ठले सर्वाधिक ४ गोल गरे । उनी खेलको म्यान अफ द म्याचबाट सम्मानित हुँदै नगद ५ हजार जित्न सफल भए । अमिरले खेलको १७, ३६, ६० र ६२ मिनेटमा गोल गरेका थिए । यसैगरी धादिङको तर्फबाट अन्य गोल शिशिर लेखीले ६४, ७९ र ८२ मिनेटमा गरी ३ गोल गरे भने उमेश राईले ८९ मिनेट र बिपिन कँडेलले २४ मिनेटमा गोल गरेका थिए । लेकालीको तर्फबाट कप्तान संगम शाहीले ५५ मिनेटमा १ गोल गरेका थिए । खेलको म्यान अफ द म्याच अमिरलाई जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले पुरस्कृत गरे ।

यसैगरी प्रतियोगिता अन्तर्गत बुधबार एउटामात्र खेल हुनेछ । जसमा १ नम्बर प्रदेशको सैनिक फुटबल क्लब झापा र सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीबिच हुनेछ ।
नेपालगन्जमा सोमबार देखी सुरु भएको एन्फा प्रेसिडेन्ट लिग–२०७७ प्रतियोगितामा ७ टोलीले प्रतिस्पर्धा गरिरहेका छन । चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन ।प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन । अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन ।

२०७७ चैत्र ३, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।