अमेरिकी सरकारले राजदुत डा खतिवडालाई पाटनबाट चोरिएको ऐतिहासिक वासुदेव–कमलाजा मूर्ति’ हस्तान्तरण

|

अमेरिकी सरकारले अमेरिकाका लागि नेपाली राजदुत डा युवराज खतिवडालाई पाटनबाट चोरिएको ऐतिहासिक वासुदेव–कमलाजा मूर्ति’(लक्ष्मी नारायण)को मूर्ति हस्तान्तरण गरेको छ ।

३५ वर्षदेखि हराइरहेको मूर्ति टेक्सस राज्यको ड्यालस म्युजियम अफ आर्टमा प्रदर्शनीमा देखिएको थियो ।

राजदुत डा खतिवडालाई वासुदेव-कमलाजाको मुर्ति अमेरिकी सरकारका प्रतिनिधि तथा एफबिआइका उप सहायक निर्देशक टिमोथी एन डनह्यामले दुताबासमा आयोजित कार्यक्रममा हस्तान्तरण गरेका हुन् ।

चोरिएर अमेरिका पुगेको मूर्तिबारे सूचना दिने न्युयोर्कस्थित जोन–जे कलेजकी प्राध्यापक इरिन एल थोम्सनका अनुसार डल्लास संग्रहालयले वासुदेव–कमलाजा मूर्ति नेपाल फर्काउने इच्छा देखाएको थियो ।

उक्त मूर्ति पाटन मन्दिरको हो भने १९९० (२०४६) साल देखि नै ड्यालस म्युजियम अफ आर्टमा प्रदर्शनी गरि रहेको थियो ।

मूर्ति हस्तान्तरण कार्यक्रममा राजदुत डा खतिवडाले अमेरिकी सरकारको प्रशंसा गर्दै कृतज्ञता व्यक्त गरे ।

अमेरिकी विदेश विभागका मुख्य उप सहायक सचिव एर्भिन मासिङ्गाले हस्तान्तरण गर्न पाउदा हर्ष व्यक्त गरे । उनले नेपालको सांस्कृतिक पैतृकधन(हेरिटेज)लाई संरक्षण र रक्षा गर्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।

२०७७ फाल्गुन २२, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।