प्रधानमन्त्री कप भलिबल: पुलिस र आर्मीको विजय सुरुवात

|

नेपालगञ्‍ज / सातौं प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन पुलिस क्लव र त्रिभुवन आर्मीले विजयी शुरुवात गरेका छन् । बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा पुलिसले न्यू डायमण्डलाई ३–२ सेटमा पराजित गरेको छ । कडा प्रतिस्पर्धात्मक खेलमा पहिलो सेटमा प्रहरीले २५–१९ ले अग्रता लिएको थियो। दोस्रो सेटमा न्यू डायमण्ड खेलमा फर्किएको थियो।

उसले पुलिसलाई २८–२६ को सेटमा पराजित गर्‍यो । तेस्रो सेटमा प्रहरी विजयी भयो । पुलिसले २५–१९ मै न्यू डायमण्डलाई पछि पार्‍यो। चौथो सेटमा न्यू डायमण्डले प्रहरीलाई अलि ठूलो अन्तरमा पराजित गर्‍यो । डायमण्डले २५–१७ मा प्रहरीलाई हरायो। अन्तिम सेटमा प्रहरीले शुरुदेखि नै अग्रता लियो । उसले १५–८ अंकमा पराजित गरेर प्रतियोगितामा विजयी शुरुवात गरेको छ।

खेलमा पुलिस क्लवका कोपिला राना ओमन अफ द म्याच भइन्।दोस्रो खेलमा त्रिभुवन आर्मीले घरेलु टोली लुम्बिनी युनाइटेडलाई सोझो सेटमा पराजित गरेको छ। आर्मीले लुम्बिनीलाई २५–८, २५–८ र २५–७ ले पराजित गरेको हो । खेलमा आर्मीका सोफिया पुन ओमन अफ द म्याच भइन्।

देशकै ठूलो धनराशीको प्रतियोगितामध्येको प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगिताको उद्घाटन मिस नेपाल नम्रता श्रेष्ठले गरिन्।प्रधानमन्त्री कपको सद्भावना दुत मिस नेपाल श्रेष्ठले महिलाहरुको नेतृत्वमा देशकै ठूलो प्रतियोगितामा सहभागी हुन पाउदा खुशी लागेको बताइन्।

फाल्गुन २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पाँच वटा टीमको सहभागिता रहेको छ। पाँच लाख पुरस्कार रहेको प्रतियोगितामा नेपाल प्रहरी, एपीएफ, त्रिभुवन आर्मी, न्यू डायमण्ड र लुम्बिनी प्रदेशको सहभागिता रहेको छ । प्रतियोगितामा दोस्रो हुनेलाई दुई लाख, तेस्रोलाई एक लाख र चौथो हुनेलाई ५० हजार रुपैया पुरस्कार राखिएको छ।

२०७७ फाल्गुन २१, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।