मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला प्रतिष्ठित पुरस्कार

|

नेपालस्थित अमेरिकी मिशन मुस्कान खातुनलाई तेजाब आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गरिने घोषणा गरेका छन् ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक किशोरले पर्सा वीरगञ्जकी मुस्कानलाई २०७६ साल भदौमा एसिड आक्रमण गरेका थिए ।
अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदानको औपचारिक घोषणा गर्ने छन् ।

प्रायजसो ठूलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैंगिक समानता र महिला सशक्तीकरणको वकालत गर्ने तथा असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाहरुलाई अमेरिकाले आईडब्ल्यूओसी पुरस्कारले सम्मान गर्दछ ।

मुस्कानले एक दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन् । धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लबी गरिन् ।
उनले प्रधानमन्त्री के.पी. ओलीसँग भेट गरिन् जसले तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरे र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गरे ।
यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण थियो ।

नेपालमा महिला तथा किशोरीहरूको अधिकारको प्रगतिलाई प्रोत्साहन गर्न पाउँदा गर्व लागेको दूतावासले जनाएको छ ।
अघिल्ला वर्षमा पाकिस्तानकी किशोरी मलाला युसुफजईलाई पनि यही पुरस्कारबाट सम्मान गरिएको थियो ।

२०७७ फाल्गुन २०, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।