बास्तोला मृत्यु प्रकरण : हत्यामा सलंग्न साथी कारागार चलान र ६ जनाविरूद्ध मुद्दा दायर

|

मोरङको उर्लाबारी नगरपालिका–५ का प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुईमध्ये एकजनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

हत्या आरोपमा बास्तोलाका साथी मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।
अर्का आरोपी उर्लाबारी–९ का ३४ वर्षीय कुमार राई भने तीन लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।

गत पुस ५ गते बास्तोलाको शंकास्पद अवस्थामा मृत्यु भएपछि आफन्त र स्थानीयबासीको आन्दोलनपछि मंगलबार प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको
थियो ।

बिहीबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलासले पुर्पक्षका लागि एकजनालाई थुनामा र अर्का एकजनालाई धरौटीमा छाड्ने आदेश दिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले बताए ।

राई र दर्जी बाहेक चार जनालाई यसअघि प्रहरीले पक्राउ गरी २५ दिन हिरासतमा राखेर छाडेको थियो ।

दर्जी मृतक बास्तोलाका साथी हुन् भने राई होटल सञ्चालक हुन् । मृत्युको अघिल्लो रात राईसँग बास्तोलाको विवाद भएको थियो ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले हत्या आरोपमा उर्लाबारी–६ का ३२ वर्षीय राजेश रणपहेली, रतुवामाई नगरपालिका–१० का २९ वर्षीय रिकेश शिवा भन्ने मेहरमान दर्जी, उर्लाबारी–६ का १९ वर्षीय सुदीप परियार, गौरादह नगरपालिका–९ का ३१ वर्षीय दीपेश पौडेल, उर्लाबारी–६ का ६० वर्षीय रमेश गिरी र उर्लाबारी–९ का ३४ वर्षीय कुमार राई विरुद्ध मुद्दा दायर गरेको थियो ।
गत माघ २ गते हाजिरी जमानीमा छुटेकाहरु भागेपछि प्रहरीले चारजनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले घटनामा संलग्न दुई जना प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको जानकारी दिए।

प्रहरीको अनुसन्धानलाई लिएर सामाजिक सञ्जालमा अनेक खाले टीकाटिप्पणी गरेको पाइयो,उनले भने तथ्यमा रहेर प्रहरीले अनुसन्धान गरेको छ। लापरबाही गरेको पाइए कारबाहीको दायरामा ल्याउनेछौ ।

२०७७ फाल्गुन १३, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।