
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गर्नु भएको छ ।
प्रचण्ड आज विहान साढे ७ बजे गौतम निवास भैसेपाटी पुगेको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदी बताउनुहुन्छ ।
गौतमले भने आफू एकताको पक्षमा रहेकोले पार्टीलाई एकढिक्का भएर अगाडी बढाउनु पर्ने जवाफ दिएको सुवेदीले जानकारी दिनुभयो । यसक्रममा उपाध्यक्ष गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गर्नु भएको बुझिएको छ ।
प्रचण्डसँगको भेटमा गौतमले ओलीलाई अपमान महसुस नहुने गरी प्रधानमन्त्रीबाट विदा गरेमात्र नेकपा एकताबद्ध भइराख्न मद्दत पुग्ने बताएको गौतम निकट नेता ताज मोहम्मद मियाले जानकारी दिनुभयो र दुई जनाबीच झण्डै एक घण्टा छलफल भएको थियो ।
यो गुटका दुई अध्यक्षले हिजो कांग्रेस सभापति शेरबहादुर देउवालाई उहाँकै निवास बुढानिलकण्ठ पुगेर सहकार्यको प्रस्ताव गरेका थिए । पार्टीमा छलफल गर्ने भन्दै सभापति देउवाले आज पदाधिकारी बैठक बोलाउनु भएको छ ।