अष्ट्रेलिया सरकारको नयाँ कानुनको कारण समाचार हेर्न र सेयर गर्न फेसबुकले लगायो प्रतिबन्ध

|

अष्ट्रेलिया सरकारले ल्याउन लागेको नयाँ कानुनका कारण फेसबुकले समाचारहरु हेर्न र सेयर गर्न बन्द गरिदिएको छ।

सरकारको स्वास्थ्य र आपतकालीन फेसबुक पेजहरू पनि बिहीबार बन्द थिए। यद्यपि फेसबुकले पछि त्यसलाई भने खुला गरिदिएको छ।

बिहीबार बिहान अस्ट्रेलियाका जनता उठेपछि फेसबुकमा सबै स्थानीय र विदेशी समाचार वेबसाइटहरू बन्द भए।

अष्ट्रेलियाको प्रस्तावित कानुनमा फेसबुक र गुगलले मिडियाको सामग्री राखेबापत् मिडिया कम्पनीलाई पैसा तिर्नुपर्ने व्यवस्था छ।

अष्ट्रेलिया सरकारले प्रतिबन्धले फेसबुकको विश्वसनीयतामा खतरा निम्त्याएको बताएको छ ।

फेसबुकले आफूले कुनै मिडियाको सामग्री चोर्ने नभई प्रकाशकहरूले नै आफ्नो समाचारको रिच बढाउन फेसबुकमा समाचार सेयर गर्ने गरेकाले पैसा तिर्ने कानुन ल्याउन नमिल्ने बताएको छ।

गत जनवरीमा अष्ट्रेलियाको सिनेटमा भएको सुनुवाइका क्रममा फेसबुकले प्रस्तावित विधेयक कानुन भए आफूले अष्ट्रेलियाली प्रयोगकर्ताको न्युज फिडमा समाचार आउनै नदिने बताएको थियो भने गुगलले सर्च इन्जिन नै बन्द गर्ने चेतावनी दिएको थियो। विधेयकबारे अहिले सिनेटमा छलफल चलिरहेको छ।

२०७७ फाल्गुन ५, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।