भागरथीको हत्यारालाई प्रहरीले सार्वजनिक गरिँदै

|

बैतडीको दोगडाकेदार गाउँपालिका – ७ की किशोरी भागरथी भट्टको हत्यामा संलग्नलाई प्रहरीले आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

गत माघ २१ गते साँझ घर नफर्किएपछि खोजी गर्दा त्यसको भोलिपल्ट बिहीबार स्थानीय लवलेक सामुदायिक वनमा उनको शव भेटिएको थियो ।

१७ वर्षीया किशोरी भागरथीको हत्यामा भाइ नाता पर्ने स्थानीय दिनेश भट्टको संलग्नता पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहले जानकारी दिनु भएको छ ।

दुई परिवारबीचको लामो समयदेखिको विवादका कारण प्रतिशोध साँध्न हत्या गरेको भट्टले बताएका छन् ।

प्रहरीले भट्टलाई आज दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ । भट्टले भागरथीको हत्या गर्ने योजनाअनुसार जंगलमा पर्खेर बसेको बयान दिएका छन् ।

भागरथीको हत्यापछि न्यायको माग गर्दै भएको प्रदर्शनमा समेत भट्ट सहभागी भएको खुलेको छ ।

बुवाको मृत्यु भएको डेढ महिनामै उनको बलात्कारपछि हत्या भएको हो।

माघ २१ गते साँझसम्म विद्यालयबाट घर नफर्केपछि भागरथीको खोजी सुरू भएको थियो। त्यसको भोलिपल्ट २२ गते साँझ घर नजिकैको जंगलमा उनी मृत अवस्थामा फेला परेकी थिइन्।

आफन्तले दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएका कारण उनको शव जिल्ला अस्पताल बैतडीमा छ।

२०७७ फाल्गुन ४, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।