
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ गतेबाट ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई खोप दिन लागेको हो।
नेपाल सरकारले माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो ।
सरकारले पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शव बाहन चालक, सीमा सुरक्षामा खटिएकाहरुलाई खोप उपलब्ध गराएको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिलो प्राथमिकतामा परेका तर लगाउन छुटेकाहरुलाई पनि यसै चरणमा खोप उपलब्ध गराइने बताउनुभयो ।
खोप लगाउन जाँदा आफ्नो कार्यालयको परिचय पत्र साथमै लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले काठमाडौंका १२ अस्पतालमा खोप केन्द्र तोकेको छ । वीर अस्पताल, सिभिल अस्पताल मिनभवन, टेकु अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, प्रसूति गृह थापाथली, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुर, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल लाजिम्पाट, शहीद गंगालाल अस्पताल बाँसबारी, नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटी र काठमाडौं मेडिकल कलेज सिनामंगलमा खोप केन्द्र तोकिएको हो ।