
न्युयोर्कमा आइतबार रातीदेखिको हिमपात जारी छ । सोमबार दिनभर हिमपात हुने भएको छ । हिमपातका कारण न्युयोर्कको जनजीवन प्रभावित भएको छ ।
हिमपात र खराब मौषमका कारण न्युयोर्कको लागुआर्डिया विमानस्थलबाट सबै उडान रद्द गरिएको जानकारी प्राप्त भएको छ ।
शक्तिशाली हिमआँधीका कारण न्युयोर्क आउने र न्युयोर्कबाट बाहिर जाने उडानहरु प्रभावित भएका छन् ।
आजका सबै ब्यापारिक उडानहरु रद्द गरिएको एयरपोर्टले ट्वीट गरेको छ । जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि ८३ प्रतिशत उडानहरु रद्द भएका छन् । दिउसोसम्म अझ धेरै उडान रद्द हुने अपेक्षा गरिएको छ ।
सबै यात्रुहरुलाई आफ्ना एयरलाइन्सलाई सम्पर्क गर्न सुझाव दिइएको छ ।
न्युयोर्कका मेयर बिल डे ब्लाजिओले स्थानीय संकटकालिन घुमफिर प्रतिबन्धको घोषणा गरेका छन् । मंगलबार विहान ६ बजेसम्मको लागि अत्यावश्यक बाहेकका अन्य घुमफिरमा प्रतिबन्ध लगाइएको छ ।
न्युयोर्क सिटीमा २२ इन्चसम्म हिमपात हुने र सिटीभर हिमआँधीको जस्तै अवस्था हुने मौषमविदहरुको चेतावनी रहेको छ ।
स्थानीय मौषम संकटकाल घोषणामा आपतकालिन अवस्थामा बाहेक अन्य अवस्थामा बाहिर निस्केर घुमफिर गर्नमा रोक लगाइएको छ ।
साथै आपतकालिन गाडीहरुका लागि बाटो खुला राख्न र हिउँ सोहोर्ने गाडीलाई राम्रोसँग काम गर्ने वातावरण बनाउन ब्लाजिओले आग्रह गरेका छन् ।
साथै हिमपातका कारण यात्रा खतरनाक हुने उनको भनाई छ र
न्युयोर्कबासीहरुलाई घरभित्रै बस्न उनले सुझाव दिएका छन् ।
तस्वीर: सामाजिक संजाल बाट