काठमाडौँ उपत्यकामै बर्डफ्लुको पुष्टि, सावधानी अपनाउन सरकारको अपिल

|

काठमाडौँको तारकेश्वर नगरपालिकामा बर्डफ्लु फेला परेको छ । तारकेश्वर नगरपालिका–७, साङ्लेखोला, फुटुङका स्थानीय किसानले पालेका टर्की कुखुरा र हाँस मर्न थालेपछि परीक्षण गराउँदा बर्डफ्लु पुष्टि भएको हो ।

पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालका अनुसार त्यहाँका स्थानीय पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लु फेला परेको हो । 

बर्डफ्लु पुष्टि भएपछि विभागले एक हजार ८६५ हाँस, ६२२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरेको छ ।

रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल सो क्षेत्रलाई नियन्त्रणमा लिन सङ्घ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरिएको प्रवक्ता ढकालले बताउनुभयो । 

यो बर्डफ्लु कहाँबाट सरेको हो भन्ने तथ्य भने खुलिनसकेको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

रोग देखापरेको क्षेत्रलाई पूर्ण निसङ्क्रमणसमेत गरी शनिबार रोग पूर्ण रूपमा नियन्त्रण गरिएको विभागले जनाएको छ । पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गरी भेटेरिनरी प्रमाणपत्र लिएर मात्रै गर्न, गराउन आग्रह गर्दै विभागले फार्म परिसरमा जैविक सुरक्षाका विधि अवलम्बन गर्न, गराउन आग्रह गरेको छ।

कुनै पनि पन्छी फार्म वा अन्य पन्छीपालन वा बिक्री स्थलमा अस्वाभाविक रूपमा पन्छी बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु सेवाका निकायमा सूचना गर्न पनि बिभागले आग्रह गरेको छ ।

सम्पूर्ण पन्छीपालक कृषकको फार्म परिसरमा नियमित रूपमा निसङ्क्रमण गर्न तथा व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनसमेत आग्रहगरेको छ ।

२०७७ माघ १८, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।