राष्ट्रिय महिला तथा पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता हुने

|

पोखरा । राष्ट्रियस्तरको महिला तथा पुरुष क्लबस्तरीय भलिबल प्रतियोगिता यही माघ २७ देखि आगामी फागुन १ गतेसम्म पोखरामा हुने भएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालामा ‘प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनशिप भलिबल प्रतियोगिता–२०७७’ हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।

उनले सो खेलका लागि महिलातर्फ चार र पुरुषतर्फ चार गरी कूल आठ टोलीको सहभागिता रहने बताए । राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी काठमाडौं र न्यू डायमन्डको सहभागिता रहनेछ । यसैगरी पुरुषतर्फ सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी काठमाडौँ र गण्डकी प्रदेशको सहभागिता रहने जनाइएको छ ।

प्रतियोगितामा उपाधि विजेता महिला तथा पुरुष टोलीले समान रु एक लाख ५० हजार, द्वितीय हुनेले रु ७५ हजार तथा तृतीयले रु २५ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रचारप्रसार संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान रु २०–२० हजार प्राप्त गर्नेछन् । सान्त्वना पुरस्कार पनि महिला तथा पुरुष खेलाडीले रु १५र१५ हजारका दरले प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान पाँच–पाँच हजार नगद प्राप्त गर्ने प्रतियोगिताका संयोजक नवीन गुरुङले जानकारी दिए ।

२०७७ माघ १२, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।