त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाबाट १८ वटा नेपाली कामदारको शव 

|

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ ।  

शव लिन निगमको जहाज शुक्रबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको क्वालालम्पुर उडेको थियो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याएको हो ।  

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली विभिन्न कारणले मृत्यु भएर त्यहाँ अलपत्र अवस्थामा थिए । मृतकका परिवारको पीडालाई बुझेर निगमले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याएको निगमले उल्लेख गरेको छ ।

निगमले क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएको छ । नेपाली कामदारको शव लिनकै लागि निगमले पहिलोपटक वाइडबडी जहाज प्रयोग गरेको हो । वाइडबडी जहाजमा १८ वटा शव बोक्ने क्षमता हुन्छ।

मलेसियास्थित नेपाली दूतावासँगको समन्वयमा निगमले नेपालीको शव ल्याएको हो । 

विदेशमा अलपत्र नेपाली कामदारको शव नेपाल ल्याएर निगमले सामाजिक उत्तरदायित्वको उदाहरणीय काम भएको निगमका सहप्रवक्ता शुलेख मिश्रले बताए ।  

 महिनौँदेखि अलपत्र अवस्थामा रहेका नेपालीको शव ल्याउन निगमको जहाज प्रयोग भएको छ । 

“नेपाल वायु सेवा निगम हामी सदैव नेपाल र नेपालीको सुखदुःखमा साथमा हुनुपर्छ र छौँ, यस कारण पनि सामाजिक उत्तरदायित्व हाम्रो प्राथमिक क्षेत्र हो र जसप्रति निगम उच्च संवेदनशील छ”, उनले भने ।

निजी क्षेत्रका जहाजले शव बोक्न आनाकानी गर्ने गरेको अवस्थामा निगमले प्रशंसनीय काम गरेको छ ।

२०७७ माघ ११, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।