
काठमाडौं । केही दिन देखी लगातार झरी परिरहेको छ भने केही स्थानमा भोलिबाट मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि (आइतबार) बाट रोकिने भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण भएको मौसम बदलीमा सुधार हुने भएको हो ।
महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अब क्रमश मौसम सफा हुँदै जाने छ । तर, केही स्थानमा भने सामान्य खालको क्षणिक वर्षा हुने सम्भावना कायमै छ। यतिखेर देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइराखेको छ । प्रदेश ५ र प्रदेश २ का थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाले दिएको विवरणअनुसार आज प्रदेश १, २, र बागमती प्रदेशमा पूर्ण बदली तथा गण्डकी, कर्णाली, सुदुरपश्चिम र प्रदेश ५ मा सामान्य बदली रहनेछ । यस्तै भोलि आइतबार प्रदेश १, बागमती, गण्डकी प्रदेशका केही स्थानहरुमा र कर्णाली, सुदुरपश्चिम प्रदेश र प्रदेश २ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार यो वर्ष प्रि – मनसुनमा अघिल्ला वर्षहरुको तुलानामा अधिक वर्षा भएको छ ।