धारा छैठौ नेपालगञ्ज म्याराथनको तयारी तिब्रगतिमा अघि बढ्दै

|

नेपालगञ्ज / धारा छैठौ नेपालगञ्ज म्याराथनको तयारी तिब्रगतिमा अघि बढेको छ । मंसीर ६ गते हुने नेपालगञ्ज म्याराथनका लागि आयोजक क्रियटिभ ह्याण्ड्सले सम्बद्ध निकायहरुसँग छुट्टा छुट्टै छलफल र बैठक गरेको छ । समन्वय बैठकमा शहरका प्रतिष्ठित व्यक्तित्वहरुले नेपालगञ्ज म्याराथनलाई सफल बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का वडाध्यक्ष सुनिलसिंह हमाल, नेपाल उद्योग बाणिज्य महासंघका कृष्णप्रसाद श्रेष्ठ, क्यान इन्फोटेकका सञ्जय थापा, लायन्सका सेम शाक्य, होटल अर्गनाइजेसनका भाष्कर काफ्ले, हिसानका डा. अवनिन्द्रदत्त मिश्र, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पूर्वअध्यक्ष भीम वली, स्कूल सञ्चालक शशि स्वाँर, नेपाल बाल संगठनका दत्तप्रसाद आचार्य, मेरो टुकीका भोजराज शर्मा, रेडक्रसका प्रल्हाद विश्वकर्मालगायतले नेपालगञ्ज म्याराथनले नेपालगञ्जको गौरव बढाएकाले यसलाई सफलतापूर्वक सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँहरुले यसपालीको नेपालगञ्ज म्याराथनबाट ओलम्पिकमा जाने खेलाडीको छनौट हुने भएकाले नेपालगञ्जवासीले आफ्नो सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो । क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरीले नेपालगञ्ज म्याराथनमा प्रथम हुनेले जापानको टोकियोमा हुने ओलम्पिकमा भाग लिन पाउने भएको जानकारी दिनुभयो । उहाँले सो अवसरमा यसपाली दुई वटामात्रै इभेन्ट हुने बताउनुभयो । म्याराथन र हाफ म्याराथनमात्रै हुनेछ । शहरका प्रतिष्ठित व्यक्तिलाई सहभागी गराएर कर्पोरेट फन रन गराइनेछ । आयोजकले बुधबार नै सुरक्षा अधिकारीसँग छलफल गरेको छ । नेपालगञ्जको वीपीचोकदेखि शुरु भएर कोहलपुर चौराहा अगाडि पुगेर पुनः वीपीचोकमा आइपुग्ने म्याराथनलाई व्यवस्थित गराउन सुरक्षा अधिकारीसँग छलफल गरिएको हो । वीपीचोकदेखि दौड शुरु भएपछि सडकको एउटा रुट खाली गराउने सुरक्षा अधिकारीले तयारी गरेका छन् । त्यसक्रममा ठाउँ ठाउँमा प्रहरी राखिने छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले स्वास्थ्य मापदण्डलाई ख्यालमा राखेर कार्यक्रम गर्न सुझाव दिनुभयो । जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी सुवास खड्काले रुट क्लियर गरेर ठाउँ ठाउँमा प्रहरी राखिने बताउनुभयो । वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज डिल्ली खड्का, जिल्ला ट्राफिक प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायव निरीक्षक ईश्वर देवकोटा, ट्राफिक प्रहरी युनिट नेपालगञ्जका प्रहरी नायव निरीक्षक सिद्धिगणेश शाहले सडकको एउटा रुट खाली गराएर ठाउँ ठाउँमा प्रहरी राखेर अघि बढ्ने बताउनुभयो ।

२०७७ मंसिर ३, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।