नेपालगन्ज / बाँकेको नेपालगन्जमा छैठौं म्याराथन प्रतियोगिता हुने भएको छ । आठ महिना भन्दा लामो समयदेखि कोरोना भाइरस कोभिड १९ का कारण सबै क्षेत्रलाई असर परेको छ । त्यसमा खेलकुद मात्रै अछुतो रहने कुरै भएन । कोराना संक्रमणलाई न्यूनिकरण गर्न सरकारले सुरुमा लकडाउन त्यसपछि निषेधाज्ञा गरेको थियो । संक्रमण अहिले पनि कम भइनसकेकोले देश भित्रको खेलकुद गतिविधि सुरु हुन सकेको छैन । यस्तो पृष्ठभूमिका वावजुद क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा नेपालगन्जको पहिचानका रुपमा स्थापित नेपालगन्ज म्याराथनको छैठौं संस्करण आयोजना गर्न लागेको हो ।
यस पटक मंसिर ६ गते शनिबार छैठौं धारा नेपालगञ्ज म्याराथन आयोजना हुने आइतवार पत्रकार सम्मेलनमा आयोजक टिमका संयोजक टिएस ठकुरीले जानकारी गराउनुभयो । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुने गरेको छ । नेपाल एथ्लेटिक्स संघबाट मान्यताप्राप्त नेपालगन्ज म्याराथन आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति प्राप्त भइसकेको छ । त्यस्तै अर्कोतर्फ नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा समेत लिएको छ ।
पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र नेपालगञ्ज जातीय, धार्मिक तथा साम्प्रदायिक विविधता भएर पनि एकताको सूत्रमा बाँधिएको सद्भावको शहर हो । सामाजिक एकताको प्रतिक खेलकुदमार्फत शहरलाई चिनाउने उद्देश्य रहेको आयोजकले जनाएको छ । यसै अनुसार हामीले विगत ५ वर्षदेखि निरन्तर नेपालगञ्ज म्याराथन गर्दै आएका छौ संयोजक ठकुरीले भन्नुभयो ।
नेपालगञ्ज म्याराथनले कोहलपुर र नेपालगञ्जलाई जोड्ने एउटा शसक्त माध्यम बनेको छ भन्ने हाम्रो ठम्याई हो । नेपालगञ्जलाई महानगर बनाउने अवधारणाको चर्चा हुँदा सरकारले नेपालगञ्ज र कोहलपुर शहर जोड्ने नीति अघि सारेको छ । यो हाम्रो पहिल्यैदेखिको सपना हो । सद्भावको शहर नेपालगञ्जलाई अरु शहरसँग जोड्ने मात्रै होइन, विश्वमा चिनाउने हाम्रो अभियान जारी रहेको छ ।
विश्व मानचित्रमा लामो दौड अर्थात म्याराथनको अलग महत्व हुने गर्दछ । यसले स्वस्थ रहन सन्देश दिन्छ, बालकदेखि वृद्धसम्मलाई समेट्छ । साथै ठाँउ विशेषको पहिचान स्थापित गर्छ, विभिन्न पेशा एवं व्यवसायका मानिस एकैपटक एक ठाउँमा जमघट गराउँछ । तर, यसपटक मानिसको जमघटमा कोरानाका कारण बढी ध्यान दिने र स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाउनुपर्ने छ उहाँले भन्नुभयो । कोरानाका कारण उत्पन्न परिस्थितिका कारण दौडमा भाग लिनेलाई दौडको समयमा बाहेक र म्याराथनलाई सफल बनाउन उपस्थित हुने सबैलाई मास्कको प्रयोग र सामाजिक दूरीलाई कायम गर्न यहि पत्रकार सम्मेलन मार्फत आग्रह गरिएको संयोजक ठकुरीले भन्नुभयो । स्वास्थ्य मापदण्डलाई अपनाएर खेलकुद गतिविधि सुरु गर्न सकिन्छ भन्ने देश व्यापी सन्देश दिनका लागि पनि नेपालगन्ज म्याराथन सफल हुनेछ भन्ने विश्वास हामीले लिएका छौं उहाँले भन्नुभयो ।
म्याराथनले सामाजिक एकताको सन्देश दिन्छ । एक हिसाबले म्याराथन एउटा उत्सव हो । उत्सव साझा हुनुपर्छ । नेपालगन्ज म्याराथन त्यही उद्देश्यबाट प्रेरित छ । त्यसका लागि सबैको सहभागिता, साझेदारी, सहकार्य जरुरी छ उहाँले भन्नुभयो ।
कोरानाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको छ । पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरेका छौं । गत वर्ष ५ किलोमिटर महिलातथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड, त्यसैगरी ८ देखि १२ बर्ष उमेरसमुहको पनि दौड र शारीरिक रुपले अशक्तहरुको लागिपनि दौड स्पर्धा समावेश गरिएको थियो ।
खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ । कर्पोरेट रनका विजेतालाई पुरस्कार प्रदान गरिनेछ । नेपालगन्ज उपमहानगरपालिका नजिक बीपीचोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनःबीपीचोकमा पुरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागि हुनेछन् । म्याराथनमा लुम्बनी, कर्णाली, प्रदेश ७ का खेलाडीहरुले भाग लिदैआएका छन् ।
नेपालगन्जम्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए । त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन् । नेपालगञ्ज म्याराथनको आइतबार पत्रकार सम्मेलन गरियो । पत्रकार सम्मेलनमा नेपाल एथलेटिक्स संघका केन्द्रीय अध्यक्ष राजीवविक्रम शाहले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियकरण गर्न संघले सघाउने प्रतिबद्धता गर्नुभयो ।
टाइटल स्पोन्सर केएल दुग्गड गु्रपका महाप्रवन्धक प्रदीप छाजेडले सहकार्यलाई निरन्तरता दिनुका साथै प्रायोजन रकम बढाउदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । सहप्रायोजक आशिर्वाद पेन्टसका अध्यक्ष किरण कार्की र राष्ट्रिय बाणिज्य संघका प्रदेश प्रमुख आनन्द सुवेदीले सहकार्यलाई निरन्तरता दिने बताउनुभयो ।