
कैलाली / संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) ले भारतबाट कैलालीको त्रिनगर भन्सार सीमा नाका हुँदै भित्रिएका नेपालीको सुविधाका लागि नाका नजिकै त्रिपाललगायतको व्यवस्थापनका लागि सहयोग गरेको छ । युएनडिपी सुदूरपश्चिम प्रदेश कार्यालयका प्रतिनिधि सतिष पाण्डेले स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणाकर अवस्थीलाई रु तीन लाख २२ हजार ५ सय बराबरका २ सय थान त्रिपाल, २० खानेपानी ट्याङ्कीलगायतका सामग्री हस्तान्तरण गरिएको बताइएको छ ।“दिनहुँ हजारौँको सङ्ख्यामा भित्रिने महिला, बालबालिका तथा वृद्ध सीमा क्षेत्रमा त्रिपालको अभावमा खुला आकाशमुनि घामपानी सहेर बस्न बाध्य छन्”, युएनडिपीका प्रतिनिधि पाण्डेले भने, “उनीहरुलाई खुला आकाशमा बस्नुपर्ने बाध्यता नहोस् भन्नका निम्ति सहयोग गरेका हौँ ।” सशस्त्र प्रहरीको सहकार्यमा युएनडिपीले नेपालीको सुविधाका लागि सीमा क्षेत्रमा त्रिपाल निर्माण गरेको बताइएको छ ।
यसैगरी, युएनडिपी सुदूरपश्चिम कार्यालयले कञ्चनपुरको महाकाली नगरपालिकाअन्तर्गतका क्वारेन्टिनको व्यवस्थापनका लागि नगरपालिकालाई रु तीन लाख ३० हजार बराबरका सामग्री सहयोग गरेको जनाएको छ । प्रतिनिधि पाण्डेका अनुसार ५० फोल्डिङ बेड डसना, ५० बाल्टिन, ५० तकिया, तन्ना, पानीखाने ड्रम, ७० थान त्रिपाललगायतका अति आवश्यक सामग्री हस्तान्तरण गरिएको हो ।