
काठमाडौं / नेपाल बक्सिङ संघले पूर्व बक्सिङ खेलाडी ओमप्रकाश शर्मालाई स्वास्थ्य उपचारका लागि बिहीबार आर्थिक सहयोग प्रदान गरेको छ । बक्सिङ संघका अध्यक्ष राम अवालेले शर्मालाई ७५ हजार १ सय ५ रुपैयाँ बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरे ।
लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा एक महिना अघि प्यारालाइसिसबाट थलिएका थिए । पाँच पटकका राष्ट्रिय च्याम्पियन शर्माले वि.सं. २०३३ सालदेखि बक्सिङ खेल्न सुरु गरेका थिए । उनले भारतको मुम्बईमा भएको एसियन च्याम्पियनसिपलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए । अध्यक्ष अवालेले शर्माको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मर्कामा परेका खेलाडीलाई अगामी दिनमा पनि सहयोग गर्न संघले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।
संघका पूर्व अध्यक्ष ओलम्पियन उमेश मास्केले शिध्र स्वास्थ्य लाभको कामना गरेका थिए । सो अवसरमा टोल बासी,ओलम्पियन,संघ पदाधिकारी तथा खेलाडीको उपस्थिति रहेको थियो ।
२०७७ आश्विन २२, बिहीबार प्रकाशित