उपाध्यक्ष र सदस्य–सचिवलाई समितिको प्रतिवेदन

|
काठमाडौं / तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विकको संयोजकत्वमा गठित खेलकुदको संरचना तथा कर्मचारी दरबन्दी सिफारिस समितिले बुधबार प्रतिवेदन बुझाएको छ । गत जेठ १४ गतेको निर्णयानुसार गठित समितिले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाएको हो ।
खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक– २०७५ को आधारमा राखेपको संरचनालाई वर्तमान समय सापेक्ष उचित र आवश्यकता अनुसार केन्द्रदेखि प्रदेश र स्थानिय तहसम्म खेलकुदको संरचनाको प्रस्तावित खाका तयार गरी सुझावसहितको प्रतिवेदन बुझाउन संयोजक विकको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको थियो । समितिका सदस्यहरुमा राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहाल, १३औ साग सचिवालय प्रशासकीय अधिकृत (हाल संघ संस्था समन्वय शाखा प्रमुख ) इन्द्रबहादुर कार्की, प्रशासन विभागका प्रशासकीय अधिकृत भोजानन्द राई, कानून शाखाका प्रमुख नारायणराज आर्याल तथा राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा र महासचिव फणिन्द्रप्रसाद पौडेल रहेका छन् । सचिवमा कर्मचारी प्रशासन शाखाका प्रमुख विनोदकुमार उप्रेती छन् ।
समितिलाई ४ बुँदे टीओआरको परिधिभित्र रहि प्रतिवेदन तयार गर्न भनिएको थियो । जस अनुसार समितिले खेलकुदको संरचना (संघ, प्रदेश र स्थानिय तह) को प्रस्तावित ढाँचा तयार गर्ने, प्रस्तावित ढाँचा बमोजिम कर्मचारी रहने दरबन्दीको प्रस्ताव तयार गर्ने, बढुवा र स्थायी पदपूर्ति सम्बन्धी प्रस्तावित कार्यनिर्देश तयार गर्ने तथा जारी हुने नयाँ ऐन बमोजिम खेलकुद विकास नियम र कर्मचारी सेवा शर्त सम्बन्धी नियमावलीको प्रस्तावित खाका तयार गर्नु पर्ने थियो ।

२०७७ आश्विन १४, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।