नेतृत्व विहिन कोरोनसँगको लडाई

|
– मनोज कॅंडेल
कोरोना कहरको बितेको ६ महिनाको लकडाउन सहितको अबस्थाको मुल्याङ्कन गर्दा नत कोरोना संक्रमण नियन्त्रण गर्न सक्यौं न उचित व्यवस्थापन । हिजो नेपालमा पहिलो चरणमा एम्बुलेन्स नपाएर, अस्पतालमा उपचार नपाएर, समयमा परिक्षण नभएर जसरी कोरोना संक्रमितहरु मरिरहेको थिए आज पनि त्यही कारणहरुले कोरोना संक्रमित मरिरहेका छन् ।
हिजोका कोरोना संक्रमणको सुरुवाती दिनहरुमा छिटो परिक्षण गर्न नसकेको, कोरोना संक्रमितहरुको पहिचान गर्न ढिलो भएको, परिक्षणको लागी आबश्यक ल्याब अपुग भएको, आइसोलेसन, क्वारेन्टाइन व्यवस्था गर्न नसकेको, क्वारेन्टाइनहरु सरकारले जारी गरेको मापदण्ड अनुसार नभएको, भारतिय सिमानाबाट संक्रमितहरुलाई व्यवस्थित गर्न नसकेको भनेर जुन आरोप नेपाल सरकारलाई लगाइन्थ्यो आज पनि त्यही समस्याहरुबाट देश जुधिरहेको छ ।
कोरोनामात्र होइन कुनै पनि माहामारीसँग लडनको लागी आम नागरिकको विश्वास जित्न सक्ने नेतृत्व महत्वपुर्ण हुन्छ जुन नेपालको सन्र्दभमा पटक्कै देखिएन । कुनै पनि युद्धमा नैतिकबान, इमान्दार, विश्वासिलो र आम सेनाले मनै देखी आत्मसाथ गर्न नसकेको सेनापति रह्यो भने जस्तो सुकै सर्बशक्तीबान सेना भए पनि जसरी महाभारतको युद्धमा दुर्योधन पराजित हुन पुगे त्यही हालत सबै युद्धमा हुन्छ नै । यही हविगत आज हाम्रो देशले कोरोनाको युद्धमा व्यहोर्नु पर्ने संकेत देखिएको छ ।
आम नागरिक, बुद्धिजिबी, प्रतिपक्ष र आफ्नै पाटीका नेता तथा कार्यक्रर्ताहरुमा कोरोनासँग लडिरहेको देशको नेतृत्व प्रति विश्वास रहेन । यसको प्रधानमन्त्रीको बेतुकका भाषणबाट शुरुभई गोकुल बास्कोटा काण्ड हुदै अन्तत कोरोनाको स्वास्थ्य सामाग्री खरिद प्रकृयामा आएर झन झाँगियो ।
यहाँ सम्मकी नेता मन्त्रीहरुको सानो आर्थिक स्वार्थको लागी स्वास्थ्य सामाग्री खरिद प्रकृयामा सेनालाई तानेर स्वच्छ र आम जनतामा अतिकती भने पनि मन जितीरहेको सेनालाई विबादित गर्ने काम समेत गरियो । हुदाँ हुदाँ आज सेना प्रमुख र रक्षा मन्त्री विच बोलचाल नभएको समाचारहरु सुन्न आम नागरिक बाध्य भएका छन् ।
यदि हामीले यो अबस्थालाई समाधान गर्न सकेनौं भने संकट झन झन जकडिने र हामीले न कोरोनाको संक्रमण कम गर्न सक्छौं न देशलाई आर्थिक माहामारीबाट जोगाउन । हामीले कोरोनाको माहामारीसँगै आर्थिक माहामारीलाई सगै जोडन सक्नु पर्नेछ नत्र कोरोना माहामारीबाट प्रताडित हुनु त छदैछ सगै समाजिक, राजनितीक र आर्थिकरुपमा देश संकटमा फस्ने निश्चित छ ।
यसविच देशबासीले लगातार सत्तासिन पाटीको सत्ता भागबण्डाका बाहेकको समाचार कहिल्यै सुन्न पाएनन । आज पनि पत्रपत्रिकाहरुको मुख्य समाचार यही सत्ता भागबण्डाहरुले भरिएको हुन्छ भने झण्डै ६ महिना देखी आम नागरिक कोरोना, बाढि पहिरोसँग नेतृत्व विहिन, सरकार विहिन नागरिकको रुपमा आफै लडिरहेका छन् ।
दुई तिहाई मत प्राप्त पाटी जो सत्तासिन छ उसको पुरै सन्यत्र बिभाजित मात्र भएन कोही नयाँ पाटी दर्ता गर्न, कोही कोरोनाको निशेधाज्ञा विच जुलुस निकाल्न, जनप्रतिनिधीहरु गाँउटोलमा जनतासँग हुनु पर्नेमा पक्षबिपक्षको जोड घटाउमा हस्ताक्षर गर्न र सरकार आफु अनुकुल अध्यादेश जारी गर्न तिर रुमल्लियो ।
उदेक त यो लाग्छ हिजो बहुमतको सरकार नभएर नेपालको राजनिती अस्थिर भयो, जसको कारण विकास गर्न सकेनौं, देशले विकास प्रगतिको रफ्तार लिन सकेन भनेर थाकेका हामी आज झण्डै दुई तिहाईको सरकार रहदा पनि त्यही अबस्थाबाट एकरति पनि पछि हटेका छैनौं । आज पनि उही सत्ताको वरीपरी झिगा जस्तै भुनभुनाउन छाडेनौं । त्यही सत्ताको स्वादमा र्याल चुहाने बाहेक जनताको मनछुने कुनै काम गर्न सकेनौं ।
माहामारीसँग एक भएर लडनु पर्ने सत्तासिनको सबै शक्ती यसरी भाडियो कि जसले माहामारी र संकट विच कमाउन खोज्नेहरुले रजाई गर्न पुगे, भ्रष्टाचार र अनियमिता झन बनमारा सरी मौलायो । अन्तत आम नागरिकले सरकारले दिएको खर्चको विवरणलाई पत्याउन सक्ने बातवरण बनेन ।
यससगै केन्द्रिय सरकारले कोरोनाको लडाइमा हात उठाउन बाध्य भयो र लकडाउनलाई निशेधाज्ञाको नाममा प्रमुख जिल्ला अधिकारीलाई कोरोना युद्धको कमाण्ड छाड्न पुग्यो । केन्द्रिय सरकार कोरोनाबाट मर्ने र संक्रमणहुनेहरुको विवरण घोषणा गर्ने काममा सिमित हुनपुग्यो ।
सत्तापक्षमात्र होइन प्रतिपक्षको भुमिका समेत आलोचित हुन पुग्यो । छाँया सरकार संचालन गरिरहेको प्रतिपक्ष पनि आफ्नै पाटीसत्ता संघर्षमा रमाउन पुगे भने सत्तापक्षले काम गर्न नसकेकोमा विरोध गर्नु सिवाय कुनै पनि ठोस योजनाहरु सरकार समक्ष दिन सकेन । आज पनि कोरोना विपत्तिको सन्दर्भमा प्रतिपक्ष र यसको छाँया सरकार कहाँ छ खोज्नु पर्ने अबस्था छ ।
नेपालमामात्र होइन विश्वका सबै राष्ट्रहरु आज कोरोनासँग लडिरहेका छन्। हामीले देखेका छौं सुनेका छौं ति देशहरु जसले सहज र सरल तरिकाले कोरोनासँग लडिरहेकाछन त्यो देशको प्रमुख कारण नेतृत्व नै हो । आम नागरिकहरुको आफ्नो नेतृत्व प्रतिको विश्वास हो । यसकारण पनि महामारीको प्रमुख हतियार यसको नेतृत्व हो ।
नेतृत्वको आफ्नो जनता प्रतिको उच्च दायित्वबोध हो । तर नेपालमा त्यस्को ठिक उल्टो नेताहरुको भुमिका रह्यो । हो, केही नेताहरु अहिले पनि चिन्तीत देखिन्छन । एकल प्रयासमा केही गर्ने, केही सुझाबहरु दिने गरिरहेका देखिन्छ तर राज्य र राज्यको श्रोत तथा साधन प्रति कुनै पहुच नभएका विचराहरुको आवाज सुन्य सरह हावामा हराई रहेकोछ । यसरी यत्रो महामारीमा दुर्भाग्यबस आज हामी नेतृत्व विहिन अबस्थामा छौं ।
समस्याहरुलाई सहिबाटोमा हिडाउन सहि र उचित व्यवस्थापन अर्को प्रमुख पाटो हुन्छ । योजना बनाउन जति सजिलो छ त्यस योजनालाई पुरा गर्न सहि व्यवस्थापनको समुह चाहिन्छ । कोरोना नियन्त्रणमा अर्को डरलाग्दो कमजोरी कोरोना व्यवस्थापनको व्यवस्थापकिय नेतृत्वमा रह्यो ।
नेताहरु नै सर्बेसर्बा, विद्धान र विशेषज्ञ हुन पुगेको स्वस्थ्य मन्त्रालय देखी सबै क्षेत्रमा विषय विज्ञ भन्दा नेता, मन्त्रीका परिबारबाद र पाटी कार्यक्रताहरुको जमातहरुले व्यवस्थापनलाई कब्जा गर्न पुगे । कब्जामात्र हाईन सबै मन्त्री देखी नेता तथा कार्यक्रर्ताहरुले यही महामारीको दुखद अबस्थालाई कमाउने धन्दाको रुपमा मौकामा चौका हान्नतिर लागे । यो अर्को दुखद पक्ष रहयो ।
आज पनि यो अबस्थाको अन्त्य भएको छैन । सरकारले तल्काल मन्त्रालयको कोरोना व्यवस्थापनको जिम्मा पुर्णरुपमा विषय बिज्ञलाई जिम्मा दिने र उनीहरुलाई स्वतन्त्ररुपमा अगाडि बढनको लागी स्रोत तथा साधनहरु दिने हो भने अहिलेको अबस्थालाई नियन्त्रण गर्नको सहज हुने देखिन्छ । आम जनतामा गिरेको विश्वास जित्न पनि यो एक प्रस्थान विन्दु हुनसक्छ यो सरकारको लागी ।
अर्को पाटो कम्तीमा कोरोनासँग जोडिएको स्वास्थ्य समाग्री खरिद प्रकृयामा नाजायज आर्थिक लाभ लिन पुगेका र यस काण्डमा जोडिएका मन्त्रीदेखी व्यापारी सम्मलाई कुनै न कुनै प्रकारको कारबाहीको दायरामा लिन सक्नु पर्छ । जसले आम नागरिकमा सरकारको लागी विश्वासको अर्को आधार खडा गर्न सक्छ ।
आजको टडकारो आबश्यकता आर्थिक अनियमिततामा नेतृत्व कठोर हुन सक्नु पर्छ नत्र अबश्य पनि कारोनासँगै आएको आर्थिक संकटले देशको आर्थिक भार धान्न सक्ने देखिदैन । तर विडम्बना ओली नेतृत्व भाषणमा भनिने गरेको भ्रष्टचारमा सुन्य सहनसिलता व्यवहारमा देखाउन तत्पर भएको पटक्कै देखिदैन ।
अन्तमा विश्वासिलो, नैतिकबान र देश र जनताप्रति इमान्दार नेतृत्व विनाको लडाई देशबासीहरुको लागी अभिसाप हुन्छनै । सबै पक्ष तथा प्रतिपक्ष सम्पूर्णरुपमा एक भएर आम विश्वासको साथ अगाडि बढनु आजको कारोनासँग लडने एकमात्र शसक्त हतियार हो । यहि दरिलो मनोविज्ञान सहितको समक्ष नेतृत्वले नै आम नागरिकलाई एक मालामा उन्नेछ र कोरोनाको यो युद्धबाट सहज जित हासिल गर्नेछ । के देशले नेतृत्व विहिन अबस्थाबाट मुक्ती पाउला ? पाउनु पर्छ र यसको पहल हुन जरुरी छ ।

२०७७ भाद्र १६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।