न लकडाउन अन्त्य भएको छ,न कोरोना संक्रमण, लापरबाह नबनौं

|

जसरी सरकारले १२० दिन देखीको लकडाउन अन्त्य भएको घोषणा गर्यो यो सरकारको गैर ज़िम्मेवार अभिब्यक्ती थियो जबकी सरकारले जारी गरेको बक्तव्यबाट नै प्रष्ट हुन्छ लकडाउन केही खुकुलो गरिएको हो नकी अन्त्य ।

अहिले पनि लकडाउन आंशिक रुपमा जारी छ र हामी आज जुन मानसिकतामा लकडाउन अन्त्य भएकोमा छरपष्टिएका छौं कतै यही लापरबाही नै समुदायस्तरको कोरोना संक्रमणको आधार बन्न नसक्ला भन्न सक्ने अबस्था छैन । यस विषयमा नत सरकार गम्भिर देखिएकोछ न आम जनताहरु ।

अर्को बिडम्बना नेपाल सरकारले लकडाउन खुला गर्दा विश्व स्वस्थ्य संगठनले तोकेको ४ वटा आधारभुत मापदण्ड कुनै पनि पुरा गरेको देखिदैन । बास्तबमा लकडाउनको अबस्था भनेको संक्रमणसँगको लडने तयारीको अबस्था हो । विश्व स्वास्थ्य संगठनले तोकेको ४ मापदण्ड जुन पुरा भएको आधारमा लकडाउन खोल्न सकिन्छ ।

पहिलो हो, संक्रमण घटेको र न्यून हुनु पर्ने । तर नेपालमा लकडाउनसँगै बढिरहेको संक्रमण घटेको छैन झन बढदो अबस्थामा छ ।

दोश्रो हो, कोरानाको महामारीसँग लडने तयारी व्यवस्थित र शशक्त हुनु पर्ने । नेपालमा तयारीको गति न्यून छ । आउने महामारीको त कुरै गरौं पछिल्लो समयमा परिक्षणको लागी काठमाडौं आएको स्वाव नै फिर्ता भएको अबस्था छ । सरकार चाहे जति परिक्षण गर्न सक्ने अबस्थामा छैन भने अन्य आबश्यक कुनै पनि पुर्बाधार विकास गर्न असक्षम भएको छ ।

तेश्रो हो, लकडाउन खुले पछिको सेवा कार्यलयहरुको तयारी अत्यन्त व्यवस्थित गर्नु पर्ने ।
सरकारले जब की क्वारेन्टाइन समेत व्यवस्थित गर्न नसकी परिक्षण विना लक्षण नभेटीएको नाममा व्यक्तिहरुलाई घर पठाएको अबस्था छ । सेवा कार्यालयहरुमा त आबश्यक सुरक्षाको कुनै पनि तयारी देखिदैन । नत लाईन व्यवस्थित छ न हात धुने देखी सेनिटाइजेसन वा शारिरिक दुरी सबै अव्यस्थित र पूर्ण लापरबाह देखिएको छ।

चौथो हो, आम नागरिकहरुलाई सुरक्षित हुने सम्बन्धी आबश्यक सूचना प्रबाह र उनीहरुलाई यस अबस्थामा सुरक्षित रहने सम्बन्धी पूर्ण जानकारी गराउने । तर नेपाल सरकारले त लकडाउनै खुलेको जस्तो, संक्रमण कै अन्त्य भए जस्तो गरि सुचना प्रसार गरेको छ जसबाट जुन सुरक्षामा पूर्णरुपमा लापरबाही हामीले प्रष्ट्र देखिन सक्छौं ।

कोरोनासँग लड्न लकडाउन आफैमा सावधान होइन र हुन पनि सक्दैन । अबश्य लकडाउनले संक्रमण रोक्न ठूलो भुमिका खेल्छ नै तर निरन्तर हुने लकडाउनले मानविय जिवन चल्न सक्दैन । सम्पूर्ण समाजिक, आर्थिक, साँस्कृतीक गतिविधी नै ठप्प पारेर नत देश चल्न सक्छ न मानविय दैनिकी यसकारण लकडाउन एक आकस्मिक रणनीति मात्र हो जसबाट तल्काल महामारीको रुपमा फैलिन सक्ने संक्रमण जाहाँको त्यही होल्ड गर्न सकियोस् ।

जब चिनमा कोरोनाको पहिलो संक्रमण पुष्टि भयो चिन सरकारले तुरुन्तै लकडाउन शुरु गर्यो । यो किन पनि जरुरी थियो भने एक्कासी देखिएको यो रोगबारे न विश्व जानकार थियो न चिन सरकार । यस्तो विषम परिस्थितीमा माहामारीहरुसँग लड्न चिन सरकारसँग पुर्ब तयारी हुने कुरै भएन यसकारण आबश्यक अनुसन्धान तथा संक्रमणसँग लडने तयारीको लागी समय चाहिने भएकोले तल्काल संक्रमणलाई होल्डमा राख्न चिन सरकारले आकस्मिक रणनितीको रुपमा लकडाउन शुरु गरेका थियो ।

नेपालले पनि पहिलो चरणमा कोरोना फ्रि देश धोषणा गर्ने सम्मको तयारी गर्दा गर्दै पनि अन्तराष्ट्रिय दबाब विशेष गरि विश्व स्वस्थ्य संगठनले नै उच्च जोखिम रहेको देशको सुचिमा नेपाललाई राखेको कारण अन्तत लकडाउनको घोषणा गर्यो । तर नेपाल सरकार यो १२० दिनको लकडाउनको अबधिमा कोरोनाको संक्रमण रोक्न भने असफल देखियो ।

विश्बको जति पनि कोरोनासँगको लडाइमा सफल राष्ट्रहरु छन सबै राष्ट्रहरुले संक्रमणको दर बढ्न थाले पछि अझ भन्ने हो भने समुदायस्तरमा संक्रमण बढ्न थाले पछि लकडाउनको रणनिती लिएको देखिन्छ । तर नेपालमा लकडाउन जुन बेला शुरु भयो त्यो बेला संक्रमण नै थिएन ।

झण्डै विश्व कोरोनाको संक्रमणले त्रसित भएको पहिलो ३ महिना त नेपालमा संक्रमण नै हुदैन जस्तो अबस्था थियो । जब नेपालमा लकडाउन शुरु भयो त्यस पछि भाइरसको संक्रमणले गति दिन थाल्यो । अन्य सफल देशहरुमा लकडाउन पछि संक्रमण घटाएर लकडाउन खोलीएको छ भने नेपालमा भने कोरोना समुदायस्तरमा संक्रमणको जोखिम बढिरहेको अबस्थामा लकडाउन खोली रहेका छौ ।

बास्तवमा लकडाउन संक्रमण रोक्नको लागी अबश्यक तयारीको लागी गरिने रणनीति हो । नेपाल सरकारले यो १२० दिनको लामो लकडाउनको अबधिमा समुदायस्तरमा हुने संक्रमण रोक्नको लागी कुनै विशेष तयारी गरेको देखिदैन । आबश्यक परिक्षण किट सम्मको जोहो गर्न सकेको देखिदैन ।

नेपाल सरकारले लकडाउन खुकुलो पारेको धोषणा गरिरहदाँ काठमाडौं जस्तो अत्यधिक जनघनत्व भएका शहरमा समुदायस्तरमा संक्रमणको जोखिम झन बढि रहेको अबस्था छ ।

ठिक हो लकडाउन गर्दा समेत संक्रमण रोक्न नसकिएको यो अबस्थामा पुरा नै तरिकाको लकडाउन गर्न सक्ने अबस्था थिएन । देशको आर्थिक गतिविधीलाई कुनै न कुनै रुपमा चलायमान गराउनु जरुरी थियो नै । यही आबश्यक्ताले नेपाल सरकारले लकडाउनको अन्त्य (खुकुलो) भएको घोषणा गरेको हो ।

लकडाउनको अबस्थाको अन्त्य नहुदाँ नहुदै पनि अन्त्यको घोषणा आफैमा जोखिमपूर्ण व्यवहार हो । जसले गर्दा कोरोना नै अन्त्य भएको मनोबैज्ञानिक भ्रम सिर्जना भएको छ त्यसैले आम मानिसहरुमा हिजो जुन सावधानी थियो त्यो अहिले भेटिदैन । यो अबस्था अत्यन्त घातक हो ।

अर्को समुदायस्तरमा कोरोनाको संक्रमण भयो भने यसको लागी आबश्यक तयारीमा सरकार नलाग्नु अर्को घातक अबस्था हो । नत अबश्यक परिक्षण किट कै तयारी छ न ल्याबको तयारी । न आइसोलेसन लगाएतको आपतकालीन तयारी नै देखिन्छ । सरकार कहाँ छ खोज्नु पर्ने अबस्था रहेको छ ।

प्रधानमन्त्रीको ध्यान जसरी सरकार संचालनबाट अन्यत्र मोडिएको छ यो पनि अर्को डरलाग्दो अबस्था हो । देश कोरोना, सलह र बाढि पहिरोले आक्रान्त छ तर पुरै सरकारी संयन्त्र प्रधानमन्त्रीको पदको बार्गेनिङमा रुमलिएको छ। दैनिक बैठक हुन्छ तर कुनै बैठकमा देश र जनता जुधिरहेको यो माहामारीको विषयमा प्रसंग समेत उठदैन ।

महामारीमा रातो दिन समय दिई यस युद्धमा लड्न सरकार, कर्मचारी, स्वास्थ्यकर्मी लगायत आम जनतामा जुन नेतृत्व दिएर अगाडि बढ्नु पर्ने प्रधानमन्त्री आफ्नै पार्टीको बैठक छलेर बस्नु पर्ने अबस्था सिर्जना भएको छ जुन देशको लागी राम्रो होइन ।

पार्टी कै नेतृत्व छिन्नभिन्न यो अबस्थामा सत्ताधारी पाटीको यो विभत्स गाँढ कोराई पनि अर्को राष्ट्रिय संकट भएर उभिएको छ । सत्ताधारी पाटी एक भएर सरकारलाई सहयोग गरेर महामारीसँग जुध्नु पर्ने अबस्थामा सरकार, प्रधानमन्त्री आज सत्ताधारी पाटी भित्रको पदको भागबण्डाले थिचिएर गन्तव्यहिन देखिन्छ भने देश नेतृत्व विहिन अबस्थामा रहेको छ ।

यसको अन्त्य नै आजको विकल्प हो । यस प्रकारको अनिर्णयको अबस्थाबाट देशलाई निकासा आजको खाँचो हो । मूख्यतयाः सत्ताधारी पाटीले निर्मम निर्णय लिनु आबश्यक छ । नेता कार्यकर्ताहरुले आफ्नो स्वार्थको खातिर पाटीलाई अनिर्णयको बन्दी बनाउनु देश प्रतिको गद्धारी नै हो ।

लाग्छ अर्को दशक पनि नेपालमा बैचारीक धुब्रिकरण कै चरण हुनेछ । लोकतन्त्रलाई निखार्न पनि सायद यो जरुरी छ । जहाँ विचार, आचारण र व्यवहार मिल्दैन त्यो मिलन देखावटी र स्वार्थको कुम्भमात्र हो । जब स्वार्थमाथि धक्का लाग्छ त्यस पछि बिस्फोट हुन्छ नै । यसरी नेकपा पाटीलाई स्वार्थको एम्बुसमा धरापमा राख्नु भन्दा निर्णायक निर्णय गरेर अगाडि बढ्नुको कुनै बिकल्प देखिदैन ।

अन्तमा लकडाउनको नत अन्त्य भएको  नै छ न कोरोनाको संक्रमण नै कम भएको छ । जति संक्रमण कम देखिएको समाचार सुनिएको छ त्यो संक्रमण कम भएर भन्दा पनि परिक्षण घटेकोले मात्र हो ।

हो, नेपाल सरकारले आर्थिक गतिविधी अगाडि बढाउने प्रयास गरिरहेकोछ जुन अति आबश्यक पनि थियो, त्यो पनि लकडाउन कै विचमा हो । यसकारण लकडाउन कायम गरौं तर सगसगैं पूर्ण साबधानीका साथ आर्थिक गतिविधी अगाडि बढाऔ। लकडाउन अन्त्य होइन मात्र केही खुकुलो अबश्य भएको छ ।

२०७७ श्रावण १४, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।