
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव पदमा पुनः रमेशकुमार सिलवाल नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सिलवाललाई चार वर्षका लागि राखेप सदस्यसचिवमा नियुक्त गरको हो । नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनपछि स्वतः खारेज भएको सदस्यसचिवको पदमा पहिलो पटक छनोटका आधारमा सिलवाल पुनःनियुक्त हुनुभएको हो ।
त्यस्तै राखेपमा पहिलोपटक खुला आह्वानद्वारा सदस्यसचिव नियुक्त हुनुभएको हो । नयाँ ऐनअनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफारिस समितिले पठाएको एक महिलासहित तीन जनामध्येबाट सिलवाल सदस्यसचिव नियुक्त हुनुभएको हो । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपकी पूर्वसदस्य इन्दिरा निरौला र राखेपका पूर्वअधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवालसहित राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल सङ्घका पूर्वउपाध्यक्ष लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो ।
त्यसैगरी बैठकले १३ औँ दक्षिण एशियाली खेलकुद (साग) को प्रचारप्रसार विभाग संयोजकको भूमिका निर्वाह गर्नुभएका शिव कोइराला राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्ष नियुक्त हुनुभएको छ । उपाध्यक्ष कोइरालाको पनि चार वर्षको पदावधि रहनेछ । Photo- GoalNepal