कैदीबन्दीको पिसिआर परीक्षण गराउन उच्च अदालतद्धारा अन्तरिम आदेश जारी

|
बाँके / उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले कारागार तथा बाल सुधार गृहमा रहेका कैदीबन्दी तथा बालबालिकासित दिनानुदिन सम्पर्कमा आउने सुरक्षाकर्मी र कर्मचारीहरुलाई कोरोना संक्रमण भए नभएको एकिन गर्न पिसिआर परीक्षण गराउन अन्तिरिम आदेश जारी गरेको छ ।
उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका माननीय न्यायाधीश हेमराज पन्तको एकल ईजलासले विपक्षी जिल्ला प्रशासन कार्यालय बाँके, कारागार कार्यालय बाँके,बाल सुधारगृह डुडुवा, स्वास्थ्य कार्यालय बाँके र यी कार्यालयका प्रमुखका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
अन्तिरिम आदेशमा कारागार तथा बाल सुधार गृहमा रहेका कैदीबन्दी तथा बालबालिकासित दिनानुदिन सम्पर्कमा आउने सुरक्षाकर्मी र कर्मचारीहरुलाई कोरोना संक्रमण भए नभएको एकिन गर्न पिसिआर परीक्षण गराउने, पिसिआर परीक्षण गर्न सबै जनाको एकै साथ सम्भव नभएमा जेष्ठ नागरिक, अन्य रोगबाट पीडित व्यक्ति,नाबालक,महिलाहरुको पहिलो चरणमा र त्यसपछि चरणबद्ध रुपमा परीक्षण गराई राख्ने, कारागार वा बाल सुधार गृहमा नयाँ आउने कैदीबन्दी वा बालबालिका र सुरक्षाकर्मी एवम् कर्मचारीहरुलाई अनिवार्य कोरोना परीक्षण गराउने, हाल भैरहेको कारागार एवंम् बाल सुधार गृहमा स्थान अभावको अवस्था रहेको हुँदा सामाजिक दुरी त्यति संम्भव नदेखिए पनि संम्भव भएसम्म सामाजिक दुरी कायम गर्न लगाई मास्क,सेनिटाईजर एवंम् साबुन जस्ता स्वास्थ्य मापदण्डहरुको अनिवार्य पालना गर्न लगाउने, कैदीबन्दी तथा बालबालिकाका लागि बाहिरबाट ल्याईने खाद्य सामग्री समेतलाई सेनिटाइज गरी मात्र प्रयोगमा ल्याउने व्यवस्था मिलाउने, अन्य कुराका हकमा तत्कालिन पुनरावेदन अदालत नेपालगन्जबाट मिति २०७१/१०/२१ मा भएको परमादेश आदेशको कार्यान्वयन गर्ने गराउने भन्ने कुरा उल्लेख छ ।

२०७७ श्रावण ११, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।