नरैनापुर, बाँके । बाँकेको नरैनापुर गाउँपालिका वडा नंं ६ मा अवस्थित सन्तानेश्वर महादेव मन्दिर क्षेत्रमा वैकल्पिक तथा स्वच्छ ऊर्जाको प्रयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यले हावाबाट विद्युत् उत्पादन गर्ने बाँके जिल्लाका साइकलप्रेमीहरुले पहल अघि बढाएका छन् ।
मन्दिरको ऊर्जा व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्यसहित हावाबाट विद्युत् उत्पादन गर्ने अवधारणा अघि सारिएको साईकलप्रेमी सरोज आले मगरले बताए । यस पहलले बघौडा क्षेत्रमा धार्मिक तथा पर्यटकीय क्षेत्रको विकाससँगै वातावरण संरक्षण र दिगो ऊर्जाको प्रयोगमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

नेपालगञ्ज साइक्लिङ क्लब र नेपालगन्ज ग्यालेरीको सामाजिक तथा सकारात्मक पहलप्रति सन्तानेश्वर महादेव मन्दिर परिवारले धन्यवाद व्यक्त गरेको छ । यस पहलले सन्तानेश्वर क्षेत्रको धार्मिक पर्यटन, वातावरण संरक्षण र दिगो विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ । स्वच्छ ऊर्जाको प्रयोगमार्फत धार्मिक स्थललाई थप वातावरणमैत्री बनाउने प्रयासका रूपमा यसलाई हेरिएको छ ।

सन्तानेश्वर महादेव मन्दिर तथा दिव्यदर्शी आश्रम परिवारले समाजसेवा तथा सकारात्मक अभियान निरन्तर योगदान पु¥याउने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता अभियानमा सहकार्यको अपेक्षा गरेको नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष कविराम बुढाथोकीले जानकारी दिनुभयो । यस अभियानलाई नेपालगन्ज ग्यालरीले समन्वय तथा सहकार्य गरि सहयोग गरेको छ ।






