नेपालगञ्ज / बाँके जिल्लाका प्रमुख राजनीतिक दलका नेताहरूले शान्ति, सद्भाव, सामाजिक एकता तथा कानुनी शासन कायम राख्न सबै नागरिकलाई संयमता अपनाउन संयुक्त अपिल गरेका छन् ।
शुक्रबार जारी गरिएको संयुक्त प्रेस विज्ञप्तिमा पछिल्ला घटनाक्रमका कारण समाजमा उत्पन्न तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कुनै पनि प्रकारका अफवाह, भ्रामक सूचना तथा उत्तेजनात्मक अभिव्यक्तिको पछि नलाग्न आग्रह गरिएको छ । सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट अपुष्ट सामग्री प्रसारण वा साझा नगर्न पनि सबैलाई अनुरोध गरिएको छ ।
विज्ञप्तिमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको दुःखद घटनामा ज्यान गुमाएका दुई युवा ओमप्रकाश मेहता र जयप्रकाश मेहताप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । साथै, त्यसपछिको प्रदर्शनका क्रममा सिराहा जिल्लामा भएको घटनामा ज्यान गुमाएका गणेश यादवप्रति पनि श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
नेताहरूले यस्ता घटनाले समाजमा अविश्वास, त्रास र विभाजन बढाउने भएकाले सबै पक्षबाट धैर्यता, संयमता र जिम्मेवारी प्रदर्शन गर्नुपर्नेमा जोड दिएका छन्। धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण नागरिक, युवा, राजनीतिक दलका कार्यकर्ता र सरोकारवालालाई सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।
संयुक्त विज्ञप्तिमा नेपाल सरकारसँग घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा पीडित परिवारलाई न्याय र आवश्यक राहत उपलब्ध गराउन माग गरिएको छ । बाँके जिल्ला धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावको उत्कृष्ट उदाहरण रहेको उल्लेख गर्दै जिल्लावासीबीचको भाइचारा, आपसी विश्वास र सहकार्यलाई अझ सुदृढ बनाउँदै कुनै पनि प्रकारका विभाजनकारी गतिविधिलाई असफल पार्न सबैले एकजुट हुनुपर्नेमा जोड दिइएको छ ।

उक्त संयुक्त प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेका सभापति विवेक कुमार श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीका संयोजक दिपक जि.एम., श्रमसंस्कृति पार्टी बाँकेका कार्यवाहक अध्यक्ष राजन राना मगर, राष्ट्रिय जनमोर्चा बाँकेका उपाध्यक्ष जगदीश ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाँकेका सचिव रुक्मणी न्यौपाने, जनता समाजवादी पार्टी (जसपा) नेपाल बाँकेका सचिव सुर्यलाल यादव, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाँकेका अध्यक्ष दिपेन्द्र शर्मा तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बाँकेका अध्यक्ष प्रेम थापाले हस्ताक्षर गरेका छन् ।






