शान्ति र सामाजिक एकताको सन्देश
नेपालगञ्ज / पूर्वी तराईमा हालै भएको घटनाको पृष्ठभूमिमा बाँकेको नेपालगञ्जमा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी भाइचारालाई सुदृढ बनाउने उद्देश्यले शनिबार बिहान बृहद् सद्भाव र्याली आयोजना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा आयोजित र्यालीमा निर्वाचित जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न धर्मका धर्मगुरु, नागरिक समाजका अगुवा, सुरक्षा निकाय तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले पछिल्ला घटनाक्रमका बीच जिल्लामा शान्ति, सामाजिक एकता र धार्मिक सद्भाव कायम राख्न सबै पक्षले संयमता अपनाउनुपर्ने आवश्यकता रहेको बताए। उनले प्रशासन, राजनीतिक दल, नागरिक समाज र धार्मिक समुदायबीच निरन्तर समन्वय र सहकार्यमार्फत शान्ति सुरक्षा सुदृढ गर्न सद्भाव र्याली आयोजना गरिएको जानकारी दिए।

शनिबार बिहान करिब ७:३० बजे स्थानीय बीपी चोकबाट सुरु भएको र्याली विभिन्न धर्मका धर्मगुरुको सहभागितासहित सुर्खेत रोड हुँदै धम्बोझी चोक पुगेर एक मिनेट मौनधारण गर्दै सम्पन्न भएको थियो। सहभागीहरूले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा ऐक्यबद्धता व्यक्त गरेका थिए।
र्यालीका क्रममा नेपालगञ्जका विभिन्न मुख्य चोकमा सुरक्षा व्यवस्थालाई थप कडा बनाइएको थियो। सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति बीच कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रशासनले जनाएको छ।

यता, र्याली समापन भएको धम्बोझी चोकमा अर्को एक समूहले मौन रूपमा उभिएर “मृतकलाई न्याय देऊ”, “घटनाको निष्पक्ष छानबिन गर” लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले शान्तिपूर्ण ढंगबाट न्याय र निष्पक्ष अनुसन्धानको माग गरेका थिए। जिल्ला प्रशासनले सबै समुदायलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न र कानुनको पालना गर्दै शान्ति तथा सुव्यवस्था संरक्षणमा सहयोग गर्न आग्रह गरेको छ।






