बर्दिया। प्लान इन्टरनेशनल नेपाल र बी-ग्रुपको सहकार्यमा बर्दिया जिल्लामा सञ्चालित प्रयास–२ परियोजना अन्तर्गत जिल्ला प्रशासन कार्यालय, बर्दिया तथा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र (DEOC) लाई खोज तथा उद्धार एवं सर्पदंश उद्धारका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ।
बी-ग्रुपका अध्यक्ष इन्द्र भण्डारीले रु. ७ लाख २५ हजार ५६१ बराबरका खोज तथा उद्धार तथा सर्पदंश उद्धारसम्बन्धी सामग्रीहरू जिल्ला प्रशासन कार्यालय, बर्दियाका निमित्त प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीलाई हस्तान्तरण गर्नुभएको हो।

सामग्री ग्रहण गर्दै निमित्त प्रमुख जिल्ला अधिकारी भण्डारीले विपद्का समयमा तत्काल खोज तथा उद्धार कार्य सञ्चालन गर्न यस्ता सामग्री महत्वपूर्ण हुने बताउनुभयो। उहाँले सर्पदंश लगायतका आपतकालीन घटनामा आवश्यक पर्ने सामग्री उपलब्ध गराएकोमा प्लान इन्टरनेशनल नेपाल र बी-ग्रुपलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले उपलब्ध सामग्रीको उचित संरक्षण र प्रभावकारी प्रयोगले जिल्लाको विपद् प्रतिकार्य क्षमता थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रयास–२ परियोजनाले विपद् पूर्वतयारी, पूर्वकार्य, खोज तथा उद्धार क्षमता अभिवृद्धि तथा स्थानीय तहको विपद् प्रतिकार्य प्रणालीलाई सुदृढ बनाउने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।






