देउखुरी। लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिरले विपद् व्यवस्थापन र शिक्षा सुधारका क्षेत्रमा भेरी वातावरणीय विशिष्टता समूह (बी-ग्रुप) ले उल्लेखनीय काम गरेको बताउनुभएको छ।
प्लान इन्टरनेशनल नेपाल र बी-ग्रुप बाँकेको साझेदारीमा बर्दिया जिल्लाका आठवटै स्थानीय तहमा सञ्चालित प्रयास–२ परियोजना तथा ठाकुरबाबा र बारबर्दिया नगरपालिकामा सञ्चालित सिकाइ सुधार परियोजनाको सिकाइ तथा प्रगति समीक्षा बैठक राप्ती उपत्यका (देउखुरी) मा सम्पन्न भएको हो।
प्रयास–२ परियोजनाअन्तर्गत विपद् पूर्वतयारी तथा समुदायको सबलीकरणका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो। त्यस्तै, सिकाइ सुधार परियोजनामार्फत विद्यार्थीको सिकाइ उपलब्धि सुधार, उपचारात्मक कक्षा सञ्चालन, शिक्षकको क्षमता विकास, गणित तथा विज्ञान शिक्षणमा सुधार र सूचना तथा सञ्चार प्रविधि (ICT) मैत्री शिक्षणलगायतका कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ।

बैठकलाई सम्बोधन गर्दै मन्त्री अहिरले प्लान इन्टरनेशनल नेपालका साझेदार संस्था बी- ग्रुपमार्फत सञ्चालन भएका परियोजना लक्षित वर्गसम्म प्रभावकारी रूपमा पुगेको बताउनुभयो। शिक्षा र विपद् व्यवस्थापनका क्षेत्रमा परियोजनाले सकारात्मक तथा उल्लेखनीय काम गरेको भन्दै उहाँले मन्त्रालयको तर्फबाट प्लान इन्टरनेशनल नेपाल र बी- ग्रुपलाई धन्यवादसमेत व्यक्त गर्नुभयो।
परियोजनाका कारण समुदाय तथा विद्यालय तहमा सकारात्मक प्रभाव परेको उल्लेख गर्दै मन्त्री अहिरले यस्ता कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। परियोजनालाई थप प्रभावकारी बनाउन मन्त्रालयले आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै उहाँले आगामी बजेट निर्माणका क्रममा शिक्षा तथा विपद् व्यवस्थापनका क्षेत्रमा सञ्चालन भइरहेका यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेर साझेदारी तथा सहकार्य गर्ने बताउनुभयो।

कार्यक्रमको अध्यक्षता बी-ग्रुपका अध्यक्ष डा. इन्द्र भण्डारीले गर्नुभएको थियो। कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवर, प्रदेशका वरिष्ठ उपसचिव सुरेशचन्द्र आचार्य, विभिन्न मन्त्रालयका महाशाखा प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता थियो।
त्यस्तै, प्लान इन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतकी क्षेत्रीय प्रबन्धक मीना पराजुली, गाउँपालिका महासंघ, नेपाल पत्रकार महासंघ तथा गैरसरकारी संस्था महासंघका प्रमुख एवं प्रतिनिधि, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि तथा प्लान इन्टरनेशनल नेपाल र साझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। बैठकमा बी-ग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारले परियोजनाको उपलब्धि, प्रगति तथा सिकाइसम्बन्धी प्रस्तुति दिनुभएको थियो। उहाँले परियोजना कार्यान्वयनका क्रममा हासिल भएका उपलब्धि, देखिएका चुनौती तथा प्राप्त सिकाइका विषयमा जानकारी गराउनुभयो।
कार्यक्रममा सहभागीहरूले परियोजनाबाट प्राप्त उपलब्धि र सिकाइलाई स्थानीय तह, विद्यालय तथा समुदायसँगको समन्वयमा निरन्तरता दिनुपर्ने सुझाव दिएका थिए। खुला छलफलमार्फत परियोजनाका आगामी कार्यदिशाका विषयमा सहभागीबाट सुझाव तथा पृष्ठपोषणसमेत संकलन गरिएको थियो।






