काठमाडौं । वायु प्रदूषण नियन्त्रण तथा वातावरणीय व्यवस्थापनका लागि कम लागतका वायु गुणस्तर मापन उपकरण (Low-Cost Air Quality Sensors) बाट प्राप्त तथ्यांकलाई नीतिगत निर्णय तथा व्यवहारिक कार्यान्वयनसँग जोड्ने उद्देश्यले काठमाडौंमा राष्ट्रिय संगोष्ठी आयोजना गरिएको छ।
‘National Symposium on Translating Data to Action: Low-Cost Sensors, Air Quality and Environmental Management’ नामक उक्त संगोष्ठी CLEAN UP NEPAL, Green Decision Labs and Research Pvt. Ltd., Nepal Development Research Institute (NDRI) र Air Pollution Health Research Laboratory (APHRL), काठमाडौं विश्वविद्यालयको संयुक्त आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा सरकारी निकाय, स्थानीय तह, सरकारी विद्यालय, प्राज्ञिक तथा अनुसन्धान संस्था, नागरिक समाज र प्राविधिक क्षेत्रका प्रतिनिधिसहित ६५ जनाको सहभागिता रहेको थियो।
कार्यक्रमको अध्यक्षता CLEAN UP NEPAL का कार्यकारी निर्देशक रविन्द्र लामिछानेले गर्नुभएको थियो भने वातावरण विभाग, कृषि, वन तथा पर्यावरण मन्त्रालयका महानिर्देशक ज्ञानराज सुवेदी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा कम लागतका सेन्सरबाट प्राप्त वायु गुणस्तरसम्बन्धी तथ्यांकको विश्वसनीयता, प्रयोग, व्यवस्थापन, संस्थागत स्वामित्व तथा सरकारको नेतृत्वमा एकीकृत तथ्यांक प्रणाली विकास गर्ने विषयमा छलफल गरिएको थियो।
कार्यक्रमको पहिलो सत्रमा नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरका प्रा. डा. बिमप्रसाद श्रेष्ठ र ICIMOD का Air Lead आशिष तिवारीले मुख्य प्रस्तुति दिनुभएको थियो। दोस्रो प्राविधिक सत्रको अध्यक्षता पूर्वमन्त्री गणेश शाहले गर्नुभएको थियो। सो सत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका लोकेश अधिकारी र वातावरण विभागका गोविन्द लामिछानेले सम्बन्धित विषयमा प्रस्तुति दिनुभएको थियो।
त्यसैगरी तेस्रो प्राविधिक सत्रको अध्यक्षता नेपाल विकास अनुसन्धान संस्थाकी कार्यकारी निर्देशक डा. शिखा थापा मगरले गर्नुभएको थियो। सत्रमा काठमाडौं महानगरपालिकाकी वातावरण निरीक्षक शृष्टि श्रेष्ठ, Green Decision Labs and Research Pvt. Ltd. का प्राविधिक परामर्शदाता सक्षम श्रेष्ठ, Clean Energy Nepal की प्राविधिक विज्ञ एना मूल तथा APHRL की अनुसन्धानकर्ता सम्पदा श्रेष्ठले कम लागतका सेन्सर, वायु गुणस्तरसम्बन्धी तथ्यांक, तथ्यांक व्यवस्थापन तथा यसको प्रभावकारी प्रयोगबारे प्रस्तुति दिनुभएको थियो।
संगोष्ठीको अन्तिम सत्रमा वायु प्रदूषण व्यवस्थापन तथा तथ्यांकको प्रयोगसम्बन्धी विषयमा प्यानल छलफल गरिएको थियो। Green Decision Labs and Research Pvt. Ltd. का प्रमुख सञ्चालन अधिकृत समिप सिग्देलले सहजीकरण गर्नुभएको उक्त छलफलको अध्यक्षता त्रिभुवन विश्वविद्यालय सेवा आयोगकी प्रा. डा. रेजिना मास्केले गर्नुभएको थियो।
प्यानल छलफलमा Wildlife Conservation Nepal (WCN) की कार्यकारी निर्देशक सञ्जीवनी श्रेष्ठ योन्जन, काठमाडौं महानगरपालिकाकी वातावरण निरीक्षक शृष्टि श्रेष्ठ, ICIMOD का Air Quality Specialist and Intervention Manager डा. रवि साहु तथा धुलिखेल अस्पतालकी Associate Professor डा. अकिना श्रेष्ठ सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा सहभागी वक्ताहरूले कम लागतका वायु गुणस्तर सेन्सरबाट संकलित तथ्यांकलाई छुट्टाछुट्टै संस्थाको सीमित प्रयोगमा मात्र नराखी सरकारी प्रणालीसँग जोड्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले सरकारको नेतृत्वमा एकीकृत तथ्यांक व्यवस्थापन प्रणाली विकास गरी वायु प्रदूषणको अवस्था नियमित रूपमा अनुगमन, विश्लेषण तथा सार्वजनिक गर्न सकेमा प्रमाणमा आधारित वातावरणीय नीति निर्माण, जनस्वास्थ्य संरक्षण तथा प्रभावकारी वायु गुणस्तर व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने बताएका थिए।
कार्यक्रममा CLEAN UP NEPAL का कार्यकारी निर्देशक रविन्द्र लामिछानेले नेपालमा वायु गुणस्तर व्यवस्थापनका लागि संस्थागत सहकार्य र साझा पहललाई प्रभावकारी बनाउन Air Quality Management Consortium को अवधारणा प्रस्तुत गर्नुभएको थियो। उहाँले कार्यक्रममा सहभागी सरकारी तथा गैरसरकारी संस्था, अनुसन्धान तथा प्राविधिक संस्थाहरूलाई कन्सोर्टियममा आबद्ध भई सामूहिक रूपमा वायु गुणस्तर व्यवस्थापनमा योगदान गर्न आग्रह गर्नुभयो।
लामिछानेले वायु गुणस्तरसम्बन्धी तथ्यांकको व्यवस्थापन, आदान–प्रदान तथा प्रयोगका लागि वातावरण विभागसँग सहकार्य गर्ने उद्देश्यले तयार गरिएको Memorandum of Delegation को मस्यौदासमेत सार्वजनिक गर्नुभएको थियो।
आयोजक संस्थाहरूले कम लागतका सेन्सरबाट प्राप्त तथ्यांकलाई राष्ट्रिय वायु गुणस्तर व्यवस्थापन प्रणालीमा प्रभावकारी रूपमा समावेश गर्न सरकार, स्थानीय तह, अनुसन्धान तथा शैक्षिक संस्था र नागरिक समाजबीच बलियो सहकार्य आवश्यक रहेको बताएका छन्। विशेषगरी बालबालिका तथा संवेदनशील समुदायलाई वायु प्रदूषणबाट पर्ने स्वास्थ्य प्रभाव न्यूनीकरण गर्न विश्वसनीय तथ्यांकमा आधारित निर्णय र व्यवहारिक कार्यान्वयनलाई प्राथमिकता दिनुपर्नेमा उनीहरूले जोड दिएका छन्।
उक्त राष्ट्रिय संगोष्ठी University of Chicago Air Quality Fund को सहयोगमा सञ्चालित ‘Breathing Easier: Protecting Children from Air Pollution’ परियोजनाअन्तर्गत आयोजना गरिएको हो। आयोजकहरूले संगोष्ठीबाट प्राप्त ज्ञान, अनुभव र प्रतिबद्धतालाई आगामी दिनमा वायु गुणस्तरसम्बन्धी नीति निर्माण, अनुसन्धान, तथ्यांक व्यवस्थापन तथा व्यवहारिक हस्तक्षेपमा रूपान्तरण गर्ने अपेक्षा गरेका छन्।






