नेपालगन्ज। एसियन पेन्ट्स च्याम्पियन कप अन्डर–१८ को उपाधि सगरमाथा इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल नेपालगन्ज–१८, बाँकेले जितेको छ । प्रतियोगितामा सहभागी ३२ टोलीलाई पछि पार्दै सगरमाथा स्कुलले उपाधि हात पारेको हो ।

भदौ ३१ गते सम्पन्न फाइनल खेलमा सगरमाथा इङ्लिस बोर्डिङ स्कुलले नेपालगन्ज मोडेल एकेडेमीलाई ट्राइबेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय ट्राइबेकरबाट गरिएको थियो । ट्राइबेकरमा सगरमाथाका खेलाडीले चार गोल गर्दा नेपालगन्ज मोडेल एकेडेमीका खेलाडीले तीन गोल गरेका थिए । उपाधि जितेपछि सगरमाथा स्कुलले विजेता खेलाडी, प्रशिक्षक तथा टिमलाई विद्यालयमा स्वागत तथा सम्मान गरेको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा संस्थापक कृष्णबहादुर जिसी र संस्थापक लक्ष्मी बिसीले विजेता खेलाडीहरूलाई टीका, खादा तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरेका थिए । कार्यक्रममा विद्यालय परिवार, विभिन्न क्षेत्रका प्रतिनिधि तथा खेलप्रेमीहरूको सहभागिता रहेको थियो । विद्यालयले खेलाडीहरूको प्रतिभा, मेहनत र सफलताको उच्च कदर गर्दै आगामी खेल यात्राका लागि शुभकामना व्यक्त गरेको जनाएको छ ।

विद्यालयस्तरीय चरणमा च्याम्पियन बनेसँगै सगरमाथा स्कुलले अब प्रदेशस्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछ । प्रदेशस्तरमा सफलता हासिल गरेपछि संघीयस्तरको प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त हुने आयोजकले जनाएको छ । विद्यालयले उपाधि जित्न योगदान पुर्याउने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा विद्यालय परिवारलाई बधाई दिँदै आगामी प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शनको शुभकामना दिएको छ ।






