नुवाकोट / विपद्का कारण समस्यामा परेका महिला, किशोरी तथा बालबालिकालाई लक्षित गर्दै ‘सहयात्री नेपाल, नेपालगञ्ज’ र ‘होलिस्टिक सर्विस सोसाइटी’को संयुक्त सहकार्यमा विभिन्न राहत तथा अत्यावश्यक सामग्री वितरण गरिएको छ।

बाढीपीडित समुदायमा प्रत्यक्ष पुगी संस्थाले राहत सामग्री हस्तान्तरण गरेको हो। विपद्को समयमा विशेषगरी महिला तथा बालबालिकाको स्वास्थ्य र सरसफाइसँग जोडिएका आधारभूत आवश्यकताका सामग्रीको अभाव हुने भएकाले मानवीय सहयोगस्वरूप उक्त सामग्रीहरू प्रदान गरिएको संस्थाले जनाएको छ।

सो राहतमा उपलब्ध गराएको सामग्रीमा १ हजार २ सय १२ थान सेनिटरी प्याड, १ सय २४ थान बेबी डाइपर, महिला तथा किशोरीका १ सय १४ पिस भित्री वस्त्र, २७ थान वाइप्स, ८६ थान बच्चाका टोपी, १९ जोडी मोजा तथा महिला र बालबालिकाका ३८ थान कपडा रहेका छन् । सहयात्री नेपालले बाढी पिडितलाई प्रत्यक्ष रुपमा राहत सामग्री वितरण गरेको छ ।

विपद्को समयमा विशेषगरी महिला तथा बालबालिकाका आधारभूत आवश्यकताका सामग्रीको अभाव हुने भएकाले मानवीय सहयोग अन्तर्गत ती सामग्री वितरण गरिएको सहयात्री नेपालले जनाएको छ । संस्थाले विपद्को समयमा प्रभावित समुदायको आवश्यकता पहिचान गरी स्वास्थ्य, सरसफाई तथा दैनिक जीवनमा आवश्यक सामग्री उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने सहयात्री नेपालकी अध्यक्ष श्वेता गुरुङ्गले बताईन् ।

सो राहत टोलीमा सहयात्री नेपालकी अध्यक्ष श्वेता गुरुङ्ग, होलिस्टिक सर्विस सोसाइटीका परियोजना संयोजक समिक्षा गुरुङ्ग, साथै सुदन हमाल र निकिता गुरुङ्गकोको सहभागिता रहेको थियो । सहयात्री नेपालले युवा, महिला तथा बालबालिकाको स्वास्थ्य, सुरक्षा र सम्मानजनक जीवनका लागि आवश्यक सहयोग तथा सामाजिक अभियानमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।






