१५०१औँ मोहम्मद जयन्तीमा पीपलको बिरुवा लगाईयो

|

नेपालगञ्ज / १५०१औँ मोहम्मद जयन्तीको अवसरमा नेपालगञ्जमा शुभकामना तथा आपसी सद्भाव आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। पूर्वमन्त्री तथा माननीय सांसद मोहम्मद इस्तियाक राई, नगर प्रमुख प्रशान्त बिष्ट, डक्टर बिनोद कर्ण , मेराज अहमद हिमालयलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा पीपलको बिरुवा रोप्दै वातावरण संरक्षण, हरियाली विस्तार र वृक्षरोपण अभियानलाई अघि बढाउने सन्देश दिइएको थियो। हरित अभियानता हेमन्तराज काफ्लेले उपलब्ध गराउनुभएको पीपलको बिरुवा रोपेर प्रकृति संरक्षणसँगै सामाजिक सद्भावको सुन्दर सन्देश दिइएको थियो।

कार्यक्रममा पूर्वमन्त्री तथा सांसद मोहम्मद इस्तियाक राईले वातावरण संरक्षणका लागि वृक्षरोपण र पीपल संरक्षणको महत्वमाथि प्रकाश पार्दै स्वच्छ तथा हरित वातावरण निर्माणका लागि र रुख बिरुवा भनेको अहिलेको बाताबरण प्रदुषण बढेको बेला निकै आवस्यक र पिपल भनेको बाताबरणको लागि निकै महत्त्वपूर्ण बिरुवा भएकाले सयौ पिपलका बिरुवा नेपालजस्तो गर्मी ठाउमा लगाउन जरुरी भनेर सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। नगर प्रमुख प्रशान्त बिष्टले मोहम्मद जयन्ती केवल धार्मिक पर्व मात्र नभई हिन्दु–मुस्लिम भाइचारा, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकताको प्रतीक भएको उल्लेख गर्नुभयो। उहाँले नेपालगञ्जको विविधतापूर्ण सामाजिक संरचनालाई अझ बलियो बनाउन सबै समुदायबीच प्रेम, सम्मान र सहअस्तित्वको भावना कायम राख्नुपर्ने बताउनुभयो।
मेराज अहमद हिमालयले पनि सामाजिक एकता, सद्भाव र वातावरण संरक्षणजस्ता साझा विषयमा सबै समुदाय मिलेर अघि बढ्नुपर्ने भनेर नै हामिले पिपलको बिरुवा लगाएको भनेर आफो धारणा राख्नुभयो।

कार्यक्रममा पूर्व व्यापार संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल कासौधन, सिराज खान, इरफान सिद्दिकी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। एकातर्फ पीपलको बिरुवा रोपेर प्रकृतिको संरक्षणको सन्देश र अर्कोतर्फ मोहम्मद जयन्तीमार्फत हिन्दु–मुस्लिम भाइचाराको सन्देश प्रवाह गरिएको यस कार्यक्रमले नेपालगञ्जको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र पर्यावरणीय चेतनालाई एउटै सूत्रमा जोडेको छ। कार्यक्रममा सहभागीहरूले हरियाली र सद्भाव दुवैलाई सँगसँगै अघि बढाउँदै समुन्नत, शान्त र एकताबद्ध समाज निर्माण गर्नुपर्नेमा जोड दिएको थियो।

२०८३ भाद्र ९, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।